-विराज रोस्यारा/ईमेज
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले ठूलो रकम खर्चिएर मन्त्री तथा कर्मचारीको सुविधाका लागि गाडि खरिद गरेको छ ।
विकास बजेट आधाभन्दा केही बढी मात्रै खर्च गरेकोे सरकारले सवारीसाधन खरिदमा भने करोडौँ खर्च गरेको छ ।
सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहितका मन्त्रालयले गत आर्थिक वर्षमा करिब ३० करोड रुपैयाँ बराबरका नयाँ गाडी खरिद गरेको छ ।
जसमा ४८ वटा मोटरसाइकल, १६ वटा एम्बुलेन्स र ३० वटा लक्जरीयस गाडी खरिद गरिएको छ ।
गत आर्थिक वर्ष विकास बजेट ६१ प्रतिशत मात्र खर्च गरेको सरकारले आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरी ठूलो परिणाममा गाडी खरिद गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ८ वटा पुरानै गाडी भएकामा अहिले ८ वटा मोटरसाईकल र २ वटा गाडी फेरि खरिद गरिएको छ ।
त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयले ५ करोड ३१ लाख रुपैयाँमा ११ वटा गाडी खरिद गरेको छ ।
जसमा २ वटा गाडी कानुनमन्त्री र सचिवको लागि र बाँकी ९ वटा पिकअप भ्यान ९ वटै जिल्ला प्रहरी कार्यालयलाई प्रदान गरिने आन्तरिक मामिला तथा कानून मन्त्रालयका सुचना अधिकारी लक्ष्मी पोखरेलको भनाइ छ ।
यस्तै अन्य मन्त्रालयमा पनि काम चलाउको अवस्था रहँदारहँदै ठूलो परिमाणको बजेट खर्चिएर गाडि खरिद गरिएको छ ।
यता सुदुरपश्चिम प्रदेश सरकारका प्रमुख प्रतिपक्षी काँगेस नेता भरत बहादुर खड्का बास, गास,शिक्षा स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा जनता पिरोलिनुपरेको अवस्थामा सरकार सुविधाभोगमा केन्द्रित हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्छन ।
जनप्रतिनिधि, उच्च अधिकारी तथा समाजका अगुवाबाट जनताले उच्च नैतिक आचरणको अपेक्षा राखेका छन् ।
तर तिनै व्यक्तिले जनभावनाविपरीत अस्वाभाविक सुविधाभोगको मोह देखाउँदा नागरिक असन्तुष्टि थप बढेको देखिन्छ ।




प्रतिक्रिया दिनुहोस्