
काठमाडौं, साउन २० । २०७२ साल वैशाख १२ र त्यसपछिका पराकम्पनबाट प्रभावित चार लाख २४ हजार ९७७ लाभग्राहीले अनुदान लिइ घर निर्माण सम्पन्न गरेका छन् ।
थप दुई लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनःनिर्माण भइरहेको राष्ट्रिय पुनःनिर्माण कम्पनीले जनाएको छ ।
पुनःनिर्माण सम्पन्न र बनाउँदै गरेकासहित कुल ६ लाख ४४ हजार २९१ घर पुनःनिर्माणको प्रक्रियामा रहेको र यो पुनःनिर्माण गर्नुपर्ने घरको संख्याको ८३ प्रतिशत रहेको पनि प्राधिकरणले जनाएको छ ।
अनुदान सम्झौता गरेका लाभग्राहीको संख्या ७ लाख ७३ हजार ४४७ छ ।
चालू आर्थिक वर्षभित्रै निजी आवास पुनःनिर्माणको मुख्य कार्य सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।
गुनासा, जोखिममा परेका वर्ग र बस्ती स्थानान्तरणमा अर्को आर्थिक वर्षमा पनि काम हुनसक्ने र अरु सबै यही आर्थिक वर्षमै सम्पन्न गर्ने प्राधिकरणको भनाइ छ ।
अनुदान सम्झौता गरेकामध्ये ७ लाख ६५ हजार २२१ ले पहिलो किस्ता बुझेका छन् भने ५ लाख ९९ हजार ४३९ ले दोस्रो किस्ता बुझिसकेका छन् । तेस्रो किस्ता बुझ्ने लाभग्राहीको संख्या ४ लाख ७४ हजार ११९ छ ।
पुनःनिर्माण भएका घरमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकमा छन् । त्यहाँ ६७ हजार ८३४ घर पुनःनिर्माण भएका छन् ।
त्यसैगरी, दोस्रो धेरै नुवाकोटमा ५२ हजार ६१३ घर पुनःनिर्माण भएका छन् । धादिङमा ४८ हजार ४५४, दोलखामा ४४ हजार ५३३ र गोरखामा ४४ हजार २३१ घर पुनःनिर्माण भइसकेको जनाइएको छ ।
निजी आवास पुनःनिर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राही सूचीबाट हटाउने प्रक्रिया सुरु भएको पनि प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्