काठमाडौं, साउन २० । नेपाल ओलम्पिक कमिटी (एनओसी)को नयाँ कार्यसमितिको निर्वाचन आउँदो भदौ तेस्रो साता हुने भएको छ ।
सोमबार राजधानीमा बसेको एनओसीको बोर्ड बैठकले भदौ २० गते निर्वाचन गर्ने मिति तय गरेको हो ।
कार्यसमिति १९ सदस्यीय
बैठकबारे जानकारी दिँदै सहमहासचिव राजीव श्रेष्ठले लोकभक्त राणाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरेको बताए ।
उनले नयाँ कार्यसमिति १९ सदस्यीय हुनेसमेत बताए ।
पहिले १७ सदस्यीय रहेकामा अब ९ सदस्यको स्थानमा सात सदस्य हुने तथा एक उपाध्यक्ष र तीन सचिव थप्ने निर्णय भएको हो ।
यसअनुसार अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, सहमहासचिव, कोषाध्यक्ष, तीन सचिव र सात सदस्य रहनेछन् ।
निवर्तमान अध्यक्ष मानार्थ अध्यक्ष रहने प्रावधान हटाइयो
त्यस्तै, निवर्तमान अध्यक्ष मानार्थ अध्यक्ष रहने प्रावधान हटाइ जो–कोही पूर्वअध्यक्षलाई मानार्थ बनाउने प्रावधान राखिएको छ ।
आउँदो मंसिरमा १३औं दक्षिण एसियाली खेलकुद (साग) हुने तयारी चलिरहँदा त्यसअघि नै निर्वाचन हुन लागेको हो ।
नेतृत्वका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्वउपाध्यक्ष उमेशलाल प्रधानबीच प्रतिस्पर्धा हुने बुझिएको छ । यसअघिको निर्वाचनमा पनि यी दुवैबीच भिडन्त भएको थियो ।








प्रतिक्रिया दिनुहोस्