Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


चार समितिका प्रतिवेदन पेस


0
Shares

काठमाडौं, साउन २० । प्रतिनिधिसभाको बैठकमा चार समितिका अलग–अलग प्रतिवेदन पेस गरिएको छ ।

सोमबारको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितका सभापति विमलप्रसाद श्रीवास्तवले ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक’ र ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६ पेस गरेका थिए ।

यसैगरी, कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘प्रशासकीय अदालत विधेयक’, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘वातावरण संरक्षण विधेयक’ र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले ‘प्रहरी समायोजन विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६’ पेस गरे ।

बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

ती पत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा योगेशकुमार भट्टराईलाई नियुक्त गरिएको र प्रधानमन्त्री केपी शर्मा ओली उपचारार्थ सिंगापुर गएपछि कार्यवाहकको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई तोकिएकासम्बन्धी थिए ।

प्रतिनिधिसभाको अर्को बैठक मंगलबार (भोलि) दिउँसो १ बजे बस्नेछ । रासस