Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


माग पुरा नभएसम्म संसदमा अवरोध जारी रहन्छ : लक्ष्मणलाल कर्ण


0
Shares

काठमाडौं, साउन १९ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सर्लाही घटनाको विषयमा संसदीय छानबिन समिति गठन र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म संसदमा अवरोध जारी रहने चेतावनी दिएका छन् ।

आइतबार रिपोर्टर्स क्लव नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा उनले संसदमा अवरोध गर्ने आफूहरुको ईच्छा नरहे पनि सरकारले बाध्य तुल्याएको बताए ।

सभामुखले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई तीन पटकसम्म निर्देशन दिएको स्मरण गराउँदै उनले अझै पनि सरकारले उक्त प्रतिवेदन सार्वजनिक नगरेकोमा आपत्ति जनाए । उनले भने, ‘सरकार त संसदबाट जन्मिएको हो । संसदको निर्देशन पालना गर्नुपर्छ । तर, अहिलेको सरकारले निर्देशन पालना गरेको छैन । सरकारले पनि प्रतिवेदन सार्वजनिक गर्छु भनेर अहिलेसम्म सार्वजनिक गरेको छैन । यो त निकृष्ट काम हो ।’

संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छु भनेर बोलिसकेको तर अहिलेसम्म सार्वजनिक नगरेको भन्दै कर्णले गुनासो पोखे । उनले भने, ‘६ महिना भइसक्यो, अहिलेसम्म प्रतिवेदन सार्वजनिक भएको छैन । सरकारले सभामुख र संसदको मर्यादामाथि खेलबाड गर्न मिल्दैन ।’ उनले बाध्य भएर आफूहरु विरोधमा उत्रिनु परेको बताए ।

कर्णले सर्लाहीमा गैरन्यायिक हत्या भएकोले आफूहरुले संसदीय छानबिन समिति गठनको माग गरेको स्पष्ट पारे । उनले भने, ‘अवैध धन्धा चलाएर ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्ने अनि त्यही खाल्डोमा पुरिएर बालकको ज्यान गएको छ । यो त मानवअधिकारको गम्भिर उल्लंघन हो ।’

उनले सर्लाहीमा भएका दुईवटै घटना गैरन्यायिक हत्या भएको टिप्पणी गरे । उनले भने, ‘यी दुवै घटनामा मानवअधिकार उल्लंघन भएको छ । त्यही भएर हामीले संसदीय छानबिन समिति गठनको माग गरेको हो ।’ 

संसदीय इतिहासमा पटक पटक यस्ता विषयमा संसदीय समिति गठन भएको स्मरण गर्दैै उनले अहिले संसदीय छानबिन समिति बनाउन केले रोकेको छ भन्ने प्रश्नसमेत गरे ।

समिति गठन गर्दा गैरन्यायिक हत्यामा सरकार संलग्न भएको कुरा सबैले थाहा पाउँछन् र आफू उदांगो भईन्छ भन्ने डरले समिति गठन गर्न सत्तापक्षले नमानेको कर्णको आरोप छ । उनले भने, ‘सत्तापक्षले समिति गठन गर्नेलगायतका हाम्रा मागका बारेमा ‘यस’ नभनेसम्म हामी रोष्ट्रमबाट फर्कन बाटो छैन ।’