Logo १३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026


३८ क्विन्टल सुन प्रकरणः उच्च अदालत विराटनगरकै आदेश सदर, गोल्यान १० लाख धरौटीमा रिहा


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले सनम शाक्य हत्या प्रकरण तथा संगठित सुन तस्करी अभियोगमा उच्च अदालत विराटनगरले गरेको आदेश सदर गरेको छ ।

थुनामा रहेका एक जना अभियुक्तलाई धरौटीमा रिहाबाहेक अन्य उच्च अदालतकै आदेश सदर भएको हो ।

उच्च अदालतले थुनामा पठाएका महावीर गोल्यानलाई भने सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

गोल्यानलाई सर्वोच्चले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले उच्च अदालतको आदेश सदर गरेको हो ।

यो आदेश अभियुक्तले मुद्दाको पुर्पक्ष थुनामा, धरौटी वा साधारण तारेखमा रहेर गर्ने सम्म सिमित छ ।

सुन प्रकरणमा सरकार र अभियुक्त व्यक्ति दुवै थुनछेक आदेशउपर सर्वोच्चमा आएका थिए ।

त्यसमध्ये अधिकांशका उच्चकै आदेश सदर हुँदा एक मात्र आदेश बदर भएको छ ।

सर्वोच्चको हिजोको आदेशअनुसार अभियुक्त सन्जय राउत थुनामै रहने छन् । सर्वोच्चले राउतको हकमा उच्चकै आदेश सदर गरेको हो ।

यस्तै आदेशअनुसार तालुराम थारुले पनि थुनामै रहेर मुद्दाको बाँकी प्रक्रियामा सहभागी हुनुपर्ने छ ।

उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएका गोविन्द निरौलाको हकमा सोही आदेश सदर भएको छ ।

विकासराज खनाललाई साधारण तारेखमा रिहा गर्ने उच्च अदालतको आदेश सर्वोच्चले सदर गरेको छ ।

अभियुक्त राजन थापा पनि थुना बाहिर रहेरै मुद्दाको कारबाही अगाडि बढाउन उच्च अदालतले गरेको आदेशलाई सर्वोच्चले निरन्तरता दिएको छ ।

सम्बिरप्रसाद तोलाङ्गेको हकमा पनि उच्च अदालतकै आदेश सदर भएको छ । तोलाङ्गे थगुनामै रहनुपर्ने छ । आदेशअनुसार मदन सिलवाल र प्रभात अग्रवाल धरौटीमा नै रहनुपर्ने छ ।

सिलवाल र अग्रवालको हकमा पनि उच्चकै आदेश सदर भएको हो । दुवै जना जनही पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

बालकृष्ण श्रेष्ठ र गोपालकुमार श्रेष्ठलाई थुनामै राख्ने उच्चको आदेश सदर भएको छ ।

मदनप्रसाद घिमिरे र राजकुमार दारुकालाई १० लाख धरौटीमा रिहा गर्ने उच्चको आदेश सर्वोच्चले सदर गरेको छ ।

नेपाल प्रहरीका तीन उच्च अधिकारीलाई साधारण तारेखमा रिहा गर्ने उच्चको आदेश पनि सर्वोच्चले सदर गरेको छ । दिवेश लोहनी, प्रतीक केसीलाई साधारण तारिखमा रिहा गर्ने आदेश सदर भएको छ ।

बालकृष्ण सञ्जेललाई साधारण तारेखमा रिहा गर्ने उच्च अदालतको आदेश सर्वोच्चले सदर गरेको छ । अमनमान डंगोल र लाक्पा शेर्पाको हकमा उच्चकै आदेश सदर भएको छ ।

डंगोल र शेर्पा दुवैलाई उच्च अदालतले थुनामा राख्न आदेश दिएको थियो । अभियुक्त रुश्यामबहादुर खत्री पनि थुनामै रहेर मुद्दाको बाँकी प्रक्रियामा सहभागी हुनुपर्ने छ । सर्वोच्चले खत्रीलाई थुनामै राख्ने उच्चको आदेश सदर गरेको छ ।

राजेन्द्रकुमार शाक्य, विमल पोदार र इतियाज उद्दीनलाई जनही १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने उच्चको आदेश पनि सर्वोच्चबाट सदर भएको छ ।

रेवतकुमार आचार्यलाई १ लाख २१ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने उच्चको आदेश पनि सदर भएको छ ।

यस्तै सर्वोच्चले विनोद अधिकारी, मोतीराम श्रेष्ठ, बालकृष्ण खड्का, ठाकुर ढुंगानाको हकमा पनि उच्चकै आदेश सदर गरेको छ ।

उच्चले सबै प्रतिवादीलाई जनही १ लाख धरौटीमा रिहाको आदेश दिएको थियो । सैयद अकबरलाई १० लाख धरौटीमा रिहा गर्ने उच्चको आदेश सर्वोच्चले सदर गरेको छ ।

अभियुक्तहरु राजु महर्जन, छिरिङ वाङ्गेल, भुजुङ गुरुङ, दोराम खत्री, कपिलराज पुरी र वीरेन्द्रमान श्रेष्ठलाई थुनामै राख्ने उच्च अदालतको आदेश पनि सर्वोच्चले सदर गरेको छ । सुनकाण्डको मुद्दा भने जिल्ला अदालत मोरङमा विचाराधीन छ ।

यसअघि प्रसारित ईमेजको समाचार बुलेटिनमा उच्च अदालतबाट रिहा भइसकेका केही अभियुक्तको नाम थुनामै रहेको भन्ने समाचार पोष्ट भएकोमा सच्याइएको छ ।