
डिबी विष्ट (इमेज)
बझाङ, साउन १७ । बझाङको केदारस्युँ गाउँपालिकाले निर्माण गरेको सडक विवादित बनेको छ ।
उपभोक्ता समितिका पदाधिकारीले रकम हिनामिना गरेको आरोप लागेपछि निर्माणाधीन सडक विवादित बनेको हो ।
२०७१ सालदेखि निर्माणाधीन बझाङको केदारस्युँ गाउँपालिकाअन्तर्गत्कोे सडकखन्डमा २०७१ सालदेखि २०७४ सालसम्म एउटा उपभोक्ता समितिले काम गरेको थियो । २०७४ सालदेखि अर्को उपभोक्ता समिति गठन गरी काम गरिएको छ ।
दुवै समितिबाट अहिलेसम्म बागथलदेखि सुदाडाको छिल्लेकसम्म झन्डै ७ किलोमिटर सडक निर्माण भइसकेको छ ।
जसमा नयाँ समितिले ७२ लाख रुपैयाँको लागतमा करिब चार किलोमिटर सडक बनाएको छ । तर, पुरानो समितिले झन्डै दोब्बर लागतमा तीन किलोमिटर सडकमात्र निर्माण गरेको बताइएको छ ।
बढी रकम खर्चिएर कम काम गरेको देखेपछि भ्रष्टाचार गरेको भन्दै स्थानीयको विरोधमा अर्को समिति गठन गरिएको थियो ।
प्राविधिक ‘स्टमेट’अनुसार सडक कटान नगरिएकोे केदारस्युँ गाउँपालिकाका इन्जिनियर ललितबहादुर मल्लको भनाइ छ ।
पहिलेको उपभोक्ता समितिले सडक कटानकाक्रममा रकम अनियमितता गरेको स्थानीयले आरोप लगाउँदै आएका छन् ।
पहिलेको समितिमा सदस्यसमेत रहेका चन्द्रोदय उमाविका प्रधानाध्यापक जनक धामी सडक कटानका नाममा आर्थिक अनियमितता भएको बताउँछन् ।
पुरानो समितिले स्पस्ट रिपोर्ट र हिसाब–किताब नदिँदा अनियमितता भएको आशंकालाई थप बल मिलेको छ ।
उपलब्ध रकमअनुसार पुरानो समितिले काम देखाउन नसकेको र त्यसमा पनि १३ लाख रुपैयाँ उधारो रहेकाले समिति विवादमा परेको हो ।
नयाँ समितिका अध्यक्ष महेश मल्ल पुरानो समितिमाथि उठेका आरोपको छानबिन गर्ने र दोषी नदेखिए तिर्न बाँकी रकम सबै मिलेर तिर्नुपर्ने धारणा राख्छन् ।
अर्कोतिर पुरानो समितिका सचिव रवीन्द्र मल्ल भने कसैले बिनाप्रमाण आरोप लगाउँदैमा दोषी नभइने भन्दै आफूहरुले उचित तरिकाले गरेका कामको प्रमाण गाउँपालिकामा पेस गर्ने बताउँछन् ।
सडकको विषयमा गाउँपालिकाको न्यायिक समितिमा पनि उजुरी परेकाले त्यो अध्ययनकाक्रममा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्