बिराज रोस्यारा (इमेज)
कैलाली, साउन १६ । धनगढी उपमहानगरपालिका वडा नम्बर–१२ मा राहतको विषयलाई लिएर हावाहुरीपीडितहरु आक्रोशित भएका छन् ।
राहत वितरणमा अनियमितता भएको भन्दै आन्दोलनमा उत्रेका पीडितमाथि बुधबार आक्रमण भएपछि पीडितहरु थप आक्रोशित बनेका हुन् ।
सबै पीडितले राहत पाउनुपर्ने माग राख्दै उनीहरु आन्दोलनमा उत्रेका थिए । आक्रमण भएपछि कुटपिटको क्षतिपूर्तिसहित राहतको माग उनीहरुले गरेका छन् ।
वडाबाट हावाहुरीपीडितको तथ्यांक संकलनमै त्रुटि हुनुका साथै वडासदस्यहरुलेसमेत अनियमितता गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन् ।
वडासदस्यद्वय बिर्ख सिंह र गीता सुनारले आफ्नै परिवारका सदस्यहरुका नाममा राहत बुझेपछि राहत नपाएका पीडितहरु चिढिएका हुन् ।
वडासदस्य सिंहले आफ्नै परिवारका दुईजनाको र गीता सुनारले ६ जनाको राहत बुझेका छन् ।
वडाध्यक्ष तथा सदस्यहरुले पहुँचका भरमा पक्की घर भएकाहरुलाईसमेत राहतका लागि सिफारिस गरेको भन्दै पीडितहरु केही दिनयता आन्दोलित छन् ।
‘तानाशाही प्रवृत्ति’
स्थानीय तहबाट पहुँचका भरमा राहत वितरण भएपछि राहत उपलब्ध गराउन माग राख्दा उल्टै आक्रमण भएको स्थानीयले दुखेसो पोखेका छन् ।
वडाध्यक्ष गणेश जोशीका छोरा नवराज जोशीको योजनामा सो आक्रमण भएको स्थानीयको आरोप छ ।
आन्दोलनको नेतृत्व गरिरहेका हावाहुरीपीडित संघर्ष समितिका संयोजक श्याम कुँवरले पीडितलाई राहत उपलब्ध गराउन माग राखिरहेका बेला आक्रमण हुनु तानाशाही प्रवृत्ति भएको बताए ।
सरकारबाट उपलब्ध हुने राहत पीडितले पाउनुपर्छ भनेर माग राख्दा महिलाहरुमाथि आक्रमण भएको उनको भनाइ छ ।
सबै पीडितले राहत नपाउँदासम्म आफूहरुको आन्दोलन नरोकिने उनले बताए ।
यसो भन्छन् मेयर
धनगढी उपमहानगरका मेयर नृपबहादुर वडले सुरुमा प्रदेश र स्थानीय सरकारले पूरै छानो भत्केकालाई पूर्ण र आधा भत्केकालाई आंशिक भनेर तथ्यांक संकलन गरिएपनि एकद्वार प्रणालीबाट राहत वितरण हुँदा फरक भएको बताए ।
जिल्ला विपद् व्यवस्थापनबाट राहत उपलब्ध हुँदा पूर्णघर भत्केकालाई पूर्ण र पूर्णछाना भत्केकालाई आंशिक क्षति बनाएर राहत उपलब्ध हुँदा यो समस्या आएको उनको भनाइ छ ।
मेयर वडले राहत पाउनैपर्ने व्यक्ति छुटेको भएमा जुनसुकै हालतमा पनि उपमहानगरले राहत उपलब्ध गराउने विश्वास दिलाए ।
कैलाली र कन्चनपुरमा शक्तिशाली हावाहुरी आएको करिब डेढ महिनापछि गएको मंगलबारदेखि धनगढी–१२ मा राहत वितरण सुरु गरिएको हो ।




प्रतिक्रिया दिनुहोस्