३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


जब भारतीय विदेश सचिवले नेपालीमै भने–‘निकट सम्बन्ध कसरी हार्दिक बनाउने भन्नेमा केन्द्रित हुन्छु’


0
Shares

Harsh vardhan sringla

काठमाडौं, मंसिर ११ । नेपाल–भारत सम्बन्ध यतिबेला तिक्तताबाट सुधारोन्मुख बनाउने प्रयास थालिएको छ । मौसमी चिसो बढेका बेला सम्बन्धमा भने न्यानोपन ल्याउने प्रयास थालिएको हो ।

भारतले नेपाली भूभाग लिम्पियाधुरा कालापानी क्षेत्रमा अतिक्रमण गरेर सडक मार्ग बनाई उद्घाटनसमेत गरेको सन्दर्भ र नेपालले लिम्पियाधुरा क्षेत्रलाई नक्शामा समेटेपछि दुई देशबीच सम्बन्ध बिग्रेको हो ।

एक वर्षभन्दा बढी समयदेखि बिग्रेको सम्बन्ध हार्दिक बनाउन यतिबेला भने दुबै देश लागेका छन् । यसैको प्रयासस्वरुप अहिले भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई नेपाल भ्रमणमा काठमाडौं आइपुग्नुभएको छ ।

दुई देशबीच सम्बन्ध चिसिएको बेला भारतले भने नेपाली भाषासमेत राम्रो बोल्ने विदेश सचिवलाई नेपाल पठाएको छ ।

काठमाडौं विमानस्थलमा उत्रने बित्तिकै श्रृंगलाले पनि नेपाली भाषामै प्रतिक्रिया दिँदै भन्नुभयो, ‘यहाँ पहिले नै आउन चाहेको थिएँ । तर, कोभिडका कारण त्यसो गर्न सकिएन । म यहाँ आउँदा धेरै खुशी भएको छु ।’

श्रृंगलाले दुई दिने भ्रमण निकै व्यस्त रहेको जानकारी दिँदै, उच्चस्तरीय राजनीतिक भेटघाटले दुई देशबीचको सम्बन्ध हार्दिक बनाउन बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसक्रममा आफू गोर्खा जिल्लासमेत पुग्ने बताउनुभयो ।

विमानस्थलमा नेपाली भाषमा मै संक्षिप्त प्रतिक्रिया दिँदै विदेशसचिव श्रृंगलाले भन्नुभयो, ‘नेपालमा आएर मलाई अत्यन्तै खुशी लागेको छ । रमाइलो लाग्यो । म पहिला पनि काठमाडौं आको छु । तर, फरेन सेक्रेटरीका रुपमा प्रथम भिजिट हो मेरो । भारत र नेपाल निकटतम मित्र हो । मेरो निकै मिटिङ हुन्छ । हामी यो क्लोज फ्रेन्डसीपलाई कसरी अघि बढाउने कुरा गरौंला । आज पहिलो मिटिङ फरेन सेक्रेटरीसँग हुन्छ । त्यहाँदेखिन् फरेन मिनिस्टर प्रदीपकुमार ज्ञवालीज्यूसँग भेट हुन्छ । अरु उच्च गन्यमान्यहरुसँग पनि भेट हुन्छ होला । तपाईहरुलाई प्रोग्राम थाहा छ ।’

उहाँले थप्नुभयो, ‘भोलि म भारत नेपाल मैत्रीको विषयमा टक दिन्छु । त्यो भर्चुअल हुन्छ, सबैको पहुँचमा हुन्छ । भोलि म गोरखा शहरमा पनि जान्छु । गोरखामा ५० हजार घर बनाउने हाम्रो, प्रधानमन्त्री मोदीको कमिटमेन्ट थियो । ४० हजार घर बनिसकेको छ । हाम्रो फोकस एजुकेसनमा पनि छ । तीनवटा स्कुल पुनर्निर्माण गरेका छौं । त्यो भोलि उदघाटन हुन्छ । र, मनाङ जिल्लामा एउटा बुद्धिस्ट गुम्बा पनि पुनर्निर्माण गरेका थियौं । त्यो पनि भोलि उदघाटन हुन्छ ।’

चिसिएको सम्बन्ध सुधारमा लागेको भारतले नेपाली भाषी विदेश सचिव मात्र नेपला पठाएको छैन, काठमाडों उत्रिएलगत्तै नेपाली भाषामै प्रतिक्रिया दिएर नेपालीको सहानुभूति पनि लिन खोजेको देखिन्छ ।

यसअघि पनि भारतका तर्फबाट दुई उच्चस्तरीय भ्रमण भइसकेको छ । शुरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना प्रतिनिधिका रुपमा भारतीय जासूसी संसथा रअ का प्रमुख सामन्तकुमार गोयललाई काठमाडो पठाउनुभएको थियो ।

गोयलले प्रधानमन्त्री केपी ओलीसँग गोप्य रुपमा बालुवाटारमा भेट गरेर फर्किएलगत्तै भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवाणे नेपाल आउनुभएको थियो ।

उहाँ राष्ट्रपति विद्या भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान ग्रहणका साथै उच्चस्तरीय भेटवार्ता सकाएर फर्कनुभएको थियो । त्यसपछि विदेशसचिव श्रृंगला नेपाल आउनुभएको हो ।