Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


प्रदेश–२ लाई बाढीपीडित विशेष क्षेत्र घोषणा गरी राहत घोषणा गर्न मुख्यमन्त्रीको माग


0
Shares

काठमाडौं, साउन १४ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले हालै आएको बाढीले तराई क्षेत्रमा अर्बौं रुपैयाँ बराबरको पूर्वधारका साथै बालीनालीको पनि क्षति भएकाले त्यसलाई पहिलेकै स्थितिमा पुर्‍याउन प्रदेश तथा स्थानीय सरकारको क्षमताबाहिर भएकाले केन्द्रीय सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले प्रदेश नम्बर–२ लाई बाढीपीडित विशेष क्षेत्र घोषणा गरी राहत प्याकेज घोषणा गर्न केन्द्र सरकारसँग माग गरे ।

रिपोर्टर्स क्लब नेपालमा मंगलबार आयोजित साक्षात्कारमा मुख्यमन्त्री राउतले गत असार २७ गतेको बाढीले त्यहाँका ८ जिल्लामा ठूलो क्षति पुर्‍याएकाले भोलिपल्टै प्रादेशिक मन्त्रिमन्डलको बैठक बसी पीडित जनतालाई राहत दिने निर्णय गरिएको जानकारी दिए ।

केन्द्र सरकार तथा प्रदेशको संयुक्त पहल आवश्यक भएको महसुस गरी आफूले प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र ऊर्जामन्त्री वर्षमान पुनसँग भेटी बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्न आग्रह गरेकामा उनीहरुबाट सकारात्मक आश्वासन पाएको उनले बताए ।

मुख्यमन्त्री राउतले बाढीले धेरै क्षति पुर्‍याएको रौटहत, सप्तरी, सर्लाही, सिराहा तथा महोत्तरीको भ्रमण गरी तत्कालै प्रदेश सरकारको क्षमताले भ्याएसम्म पीडितलाई राहत सहयोग गरिएको जानकारी पनि दिए ।

लालबकैया, वाग्मती तथा रातुनदीको तटबन्ध मर्मत नहुनु र चुरे दोहनले त्यहाँका जनताले वर्षेनि बाढीको मार व्यहोर्नुपरिरहेको बताउँदै उनले आफूले यसबारे पटक–पटक ध्यानाकर्षण गर्दा पनि केन्द्र सरकारले चासो नदिएको गुनासो गरे । रासस