Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


सेनाको खेलकूद प्रशिक्षण शुरु हुँदै


0
Shares

काठमाडौं । नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकूद गतिविधि सञ्चालन गर्ने भएको छ ।

कोभिड–१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्याउन खेलकूद गतिविधि स्थगन गरी खेलाडीलाई सेनाले आआफ्नो युनिटमा फिर्ता पठाएको थियो ।

सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रले खेलकूदलाई पुनः गति प्रदान गर्न दैनिक प्रशिक्षणलाई आगामी शुक्रबारदेखि निरन्तरता दिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

विश्व शान्तिकार्यमा व्यावसायिक, साहसिक र अनुशासित सुरक्षा फौजको रूपमा ख्याति कमाएको नेपाली सेना मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पियन’ हो ।

सेनाले खेलकूदलाई तीव्रता प्रदान गर्ने विषयमा नीतिगत व्यवस्थाका लागि मन्त्रालय र राष्ट्रिय खेलकूद परिषद्सँग समन्वय गरिरहेको जानकारी दिएको छ ।

कोरोनाका कारण लकडाउनपछि हालसम्म केन्द्रले कुनै खेलकूद सञ्चालन गरेको छैन ।

नियमितरूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरी खेलाडी उत्पादन गर्न र खेलकूदको विकासका लागि नेपाली सेनाले महत्वपूर्ण योगदान दिँदै आएको छ ।

सेनाले पहिलो चरणमा सागमा सहभागी अन्तर्राष्ट्रियस्तरका खेलाडी, सेनाकै प्रशिक्षक, विश्वकप चरणमा छनोट भएका खेलाडी, दोस्रो चरणमा प्रधानसेनापति ट्रफीमा सञ्चालन हुने विधाका राष्ट्रिय खेलाडी र राष्ट्रिय खेलकूद परिषद्सँग समन्वयमा हुने खेलकूदका खेलाडीलाई प्रशिक्षण दिनेछ ।

कोरोनाका कारण स्थगन भएका प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिताअन्तर्गत अन्तर्राष्ट्रिय ट्राई–एड्भान्चर, उच्चपर्वतीय ट्राई– एड्भान्चर, अन्तर्राष्ट्रिय महिला फुटबल, राष्ट्रिय भलिबल, खुल्ला म्याराथन दौड र प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता अनुकूल मिलाएर सञ्चालन गर्ने सेनाले जनाएको छ ।

सेनाले ३३ विधाका खेलमा सहभागिता जनाउँदै आएकामा एथलेटिक्स, फुटबल, बक्सिङ, तेक्वान्दो, आर्चरी, ब्याडमिन्टन, र्याफ्टिङ, महिला भलिबल, सुटिङका खेलाडीलाई कोभिड–१९ विरुद्ध सुरक्षात्मक उपाय अपनाएर लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकूद केन्द्रमा प्रशिक्षणमा राख्ने छ । रासस