Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


स्कुल विभागको नेतृत्व लिन हानथाप


0
Shares

अक्कल कुँवर (इमेज)

काठमाडौं, साउन ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा ३२ विभागमध्येको एक स्कुल विभागलाई शीर्ष नेताहरुले नै प्रतिष्ठाको विषय बनाउँदा विभाग गठनको विवाद पेचिलो बनेको छ ।

पार्टी एकता भएको १४ महिनापछि टुंगो लाग्ने दिशामा रहेको सांगठनिक एकता स्कुल विभागकै कारण पूरा हुन सकेको छैन ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पटक–पटक ‘वान टु वान’ छलफल गरेपनि स्कुल विभागको नेतृत्वबारे सहमति जुट्न सकेको छैन ।

आन्तरिक किचलोकै कारण सचिवालय बैठक दुईपटक स्थगित भइसकेको छ ।

पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका नेताहरुको मनोविज्ञानका कारण नेकपाभित्र स्कुल विभागको नेतृत्वका लागि अनावश्यक हानथाप भएको हो ।

स्कुल विभागको नेतृत्व आफ्नो पक्षका नेतालाई दिएर आफ्नो वैचारिक दिशाअनुसार पार्टी चलिरहेको देखाउने मनसाय नै विभाग गठनको विवादको चुरो बनेको छ ।

जसका कारण अन्तिम अवस्थामा रहेको पार्टी सांगठनिक एकताको काम पछि धकेलिएको छ । विवाद मिलाउन शीर्ष नेतृत्वलाई हम्मे–हम्मे परिरहेको छ ।

स्कुल विभागको नेतृत्वका लागि सचिवालय सदस्य ईश्वर पोखरेल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको दाबीका कारण तन्किएको विवादमा अहिले स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र बेदुराम भुसाल पनि जोडिएका छन् । यी दुवै नेताले पनि स्कुल विभागको जिम्मेवारीमा दाबी गरेका छन् ।

स्थायी कमिटी सदस्य भुसाल पार्टीको निर्णय, सिद्धान्त र निर्देशन स्कुल विभागबाटै प्रसारित हुने भएकाले आकर्षण बढेको बताए ।

स्कुल विभागको नेतृत्व गरेर कार्यकर्तालाई प्रशिक्षण दिने र कार्यकर्तामाझ आफ्नो विचार राखेर पार्टीमा लोकप्रिय बन्न सकिने मनसायका कारण पनि यो विभागप्रति नेताहरुको आकर्षण बढेको अधिकांश नेताको बुझाइ छ ।

तर, स्थायी कमिटी सदस्य भुसालले स्कुल विभाग पनि पार्टीको निर्णय र सिद्धान्तअनुसार नै निर्देशित हुने भएकाले कार्यकर्तामाझ आफ्नो विचार राखेर लोकप्रिय हुने मनसायले नेतृत्वको दाबी गर्नु गलत भएको तर्क गरे ।

विभागको नेतृत्वको दाबी गर्दै नेताहरुले आन्तरिक ‘लबिइङ’लाई पनि तीव्रता दिएका छन् ।

स्कुल विभागको नेतृत्वले आफ्ना विचारलाई पार्टीका ‘फोरम’हरुमा लगेर प्रशिक्षण चलाउन पाउँदैन । पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीले पारित गरेका निर्णयका आधारमा प्रशिक्षण विभागले प्रशिक्षण चलाउने स्पस्ट व्यवस्था गरेको छ ।

पटक–पटकको छलफलमा पनि सहमति जुट्न नसकेपछि शीर्ष नेतृत्व विभिन्न विकल्पमासमेत छलफल गरिरहेको छ ।

अझैपनि पोखरेल र श्रेष्ठबीचमै सहमति खोज्ने, दुईजनाबाहेक सचिवालयकै तेस्रो व्यक्तिलाई नेतृत्व दिने, अध्यक्षद्वयले नै नेतृत्व गर्ने, सचिवालय सदस्यलाई तोकिएको विभागको जिम्मेवारी हेरफेर गर्ने वा स्कुल विभागको नेतृत्व स्थायी कमिटी सदस्यमा हस्तान्तरण गर्ने विकल्पमा छलफल चलिरहेको छ ।

भिडियो हेर्नुहोस्

Skip This