हरि शर्मा (इमेज)
परासी, साउन ८ । पश्चिम नवलपरासी, सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले दुई वर्षको अवधिमा पाएको तलब–भत्तावापतको सम्पूर्ण रकम सामाजिक कार्यमा खर्चेका छन् ।
नगरप्रमुखको कार्यभार सम्हालेको दुई वर्ष पुगेको छ । यसअवधिमा नगरप्रमुख थापाले तलब–भत्तावापत १५ लाख रुपैयाँ पाएका छन् ।
यसअघि, भत्तावापत पाउँदै आएको रकम थापाले ज्येष्ठ नागरिक, असहाय र विपन्नको जीविकोपार्जन तथा उपचारमा उपलब्ध गराउँदै आएका थिए ।
पछिल्लोपटक तलबवापतको रकम सुनवल स्वास्थ्यचौकीलाई उपलब्ध गराएका हुन् ।
२०७६ असारसम्मको तलबवापत हुन आउने ८ लाख ४० हजार रुपैयाँ उनले सुनवल स्वास्थ्यचौकीलाई उपलब्ध गराएका हुन् ।
नगरप्रमुखको मासिक तलब ३५ हजार रुपैयाँ छ ।
नगरप्रमुख निर्वाचित भएलगत्तै थापाले आफूले पाउने तलब–भत्तासहितका सबै सुविधा सामाजिक कार्यमा खर्चने प्रतिबद्धता जनाएका थिए ।
गोष्ठी, सेमिनारमा सहभागी भएवापत उनले हालसम्म ६ लाख रुपैयाँ भत्ता पाएका छन् । त्यसैगरी, दैनिक भ्रमणभत्तावापत ९० हजार पाएका छन् ।
उक्त सबै रकम ज्येष्ठ नागरिकको धार्मिक यात्रा, विपन्न परिवारको काजक्रिया खर्च, विपन्नलाई जीविकोपार्जनका लागि रिक्सा खरिद र औषधि उपचारमा उपलब्ध गराएको उनले बताए ।
यस आर्थिक वर्षदेखि पाउने सम्पूर्ण रकम पनि शिक्षा, स्वास्थ्य र विपन्नहरुको सहयोगमा खर्चने नगरप्रमुख थापाले बताए ।








प्रतिक्रिया दिनुहोस्