Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


बाढीको पूर्वतयारीमा जुटे स्थानीय तहः विपद्बाट जोगिन नमूना अभ्यास गरिंदै


0
Shares

-दुर्गा उपाध्याय/ईमेज

कञ्चनपुर । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुवानले देशमा ठूलो जनधनको क्षति भयो । प्राकृतिक विपद्को पूर्वतयारी नहुँदा ठूलो क्षति भएको हो ।

तर कञ्चनपुरमा भने अहिले विपद् पूर्व तयारीका अभ्यास भइरहेका छन् ।

बाढीबाट ठूलो क्षति नहोस् भनेर कञ्चनपुरका स्थानीय तहसँगै जिल्लास्थित गैरसरकारी संस्था पूर्वसावधानीका लागि अग्रसर देखिएका हुन् ।

कञ्चनपुरका स्थानीय तह बाढीबाट हुने क्षति कम गर्न तयारीमा जुटेका छन् ।

विपद्बाट बच्ने नमूना अभ्यास गरिरहेका स्थानीय तहलाई जिल्ला रेडक्रस, युएनडीपीलगायतका संस्थाले विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने समाग्री उपलब्ध गराइरहेका छन् ।

यता, बाढी आएका बेला प्रभावित क्षेत्रमा परिचालन गर्न रेडक्रसले करिब २ हजार ४ सय स्वयमसेवक तयार गरेको छ ।

साथै, बाढीको पूर्व तयारीका लागि खोज तथा उद्धार कार्यदल, पूर्वसूचना कार्यदल र उपचार कार्यदल गठन गरि तयारीका अभ्यास समेत भइरहेका छन् ।

विपद्को बेला हुनसक्ने मानवीय क्षतिलाई कम गर्न र उद्धारका लागि उपशाखाले तयारी गरिरहेको नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका कोषाध्यक्ष थिरेन्द्र चन्द्र भट्टको भनाई छ ।

कञ्चनपुरको महाकाली र शुक्लाफाँटा नगरपालिका तथा लालझाँडी गाउँपालिका बाढीको जोखिममा छन् ।

पूर्व तयारीका अभ्यासले आफूलाई सुरक्षित स्थानमा जान सहयोग पुगेको स्थानीयको भनाइ छ ।

कञ्चनपुरमा बाढीबाट ६५ हजार बढी घरपरिवार प्रभावित हुन सक्ने पूर्वानुमान छ ।

विभिन्न संघसंस्थाले संकलन गरेको तथ्यांकअनुसार बाढीबाट १८ हजार ३५ परिवार बढी प्रभावित हुन सक्ने देखिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्य बताउँछन् । 

प्रभावकारी सूचना प्रणाली नभएकै कारण २०६५ सालमा आएको बाढीले कञ्चनपुरमा ठूलो धनजनको क्षति भएको थियो ।

मानवीय क्षती न्यूनीकरण गर्न अहिले मछेली नदीको उद्गम स्थानमा सतह मापनका लागि स्वचालित प्रणाली जडान गरिएको छ ।

स्वचालित पूर्व सूचना प्रणालीबाट मछेली नदी प्रभावित कृष्णपुर, बेलौरी, पुर्नवास नगरपालिका र लालझाँडी गाउँपालिकाको तटीय क्षेत्रका समुदायको सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न सकिने भएको छ ।