१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


साधारण बेड र आइसियूसमेत खाली, तर लेखा अधिकृतले आफ्नै अस्पतालमा भर्ना नपाउँदा मृत्यु


0
Shares

काठमाडौं । २५ वर्ष सेवा गरेकोमा उनलाई अस्पतालले सम्मानित गर्नुपर्ने हो । तर, आफैँले वर्षौँ पसिना बगाएको अस्पतालमा भर्ना नपाएर उनको मृत्यु भएको छ । अर्को विडम्बना ! उनलाई अस्पतालले भर्ना नगरेर फर्काउँदा अस्पतालमा साधारण १२ र भेन्टिलेटरसहितका दुई आइसियू बेड खाली थिए ।

५२ वर्षीय राजाराम दसैँ बिदामा धादिङ त्रिपुरासुन्दरीस्थित घर गएका थिए । ‘सानोमा निमोनिया बिग्रिएकोे थियो, सायद त्यही कारणले वेलावेलामा खोक्नुहुन्थ्यो । टीकाको भोलिपल्ट उहाँ मोटरसाइकलमा काठमाडौं फर्किनुभएको हो । चिसो लागेजस्तो थियो । तैपनि कार्यालय गइरहनुभएको थियो,’ परिवारजनले नयाँ पत्रिकासँग भने ।

सोमबार राति ११ बजेतिर राजाराम एक्कासि बेहोस भए । २५ वर्ष शिक्षण अस्पतालमा सेवा गरेका राजारामलाई कहाँ लग्ने भन्ने प्रश्नै भएन । ‘आफ्नै अस्पतालमा राम्रो उपचार हुन्छ भन्ने विश्वासमा हामीले त्यतै दगुरायौँ । एम्बुलेन्स मगाउँदा ढिलो हुन्छ भनेर ट्याक्सीमा कुदायौँ । करिब १२ बजे उहाँलाई शिक्षण अस्पताल पु¥यायौँ,’ परिवारजनको भनाइ छ ।

शिक्षण अस्पतालको इमर्जेन्सीमा पु¥याउना साथ डाक्टरहरूले आइसियूमा राख्नुपर्ने बताएका थिए । हुन्छ नि त भर्ना गरिहालौँ भन्दा जवाफ आयो– आइसियू खाली छैन । लौ न जसरी पनि बचाउनुप¥यो, उहाँ यही अस्प्तालको अधिकृत हो भनेर हारगुहार गर्दा पनि बेड छैन भन्ने जवाफ मात्र आइरह्यो ।

अत्तालिएका आफन्तले यत्रतत्र सबै अस्पतालमा फोन गरे । उनीहरूले सीतापाइलाको मनमोहन र शुभेक्षा अस्पताल, बाफलको यती अस्पताल, कलंकीको सहिद मेमोरियल अस्पतालमा सम्पर्क गरे । यी अस्पतालमा आइसियू छैन भन्ने जवाफ आयो । सहिद मेमोरियलले आइसियू छ, तर कोरोना परीक्षणको रिपोर्ट भए मात्रै भर्ना लिने बतायो ।

‘बिरामी बेहोस छ, हामीले पलपल गनिरहेका छौँ । अब कहाँबाट ल्याउनु पिसिआर रु’ परिवारजनले भने, ‘शिक्षण अस्पतालमै बसेर हामीले यता र उता हारगुहार लगायौँ । यही अस्पतालमै केही उपाय लाग्छ कि भनेर बिन्ती पनि ग¥यौँ । तर, चार घन्टासम्म पनि केही लागेन ।’

अन्तिममा बुढानीलकण्ठ नगरपालिकाको चुन्निखेलस्थित करुणा अस्पतालमा आइसियू खाली छ भन्ने खबर आयो । साढे चार बजे उनलाई करुणा अस्पताल पु¥याइयो । ‘आइसियूमा भर्ना गराएपछि केही आशा जागेको थियो । तर, करिब दुई घन्टापछि साढे ६ बजेतिर डाक्टर बाहिर आएर भने, ‘सरी तपाईंहरूले निक्कै ढिला ल्याउनुभयो । उहाँलाई बचाउन सकिएन ।’

करुणा अस्पतालका चिकित्सकहरूका अनुसार शरीरमा अक्सिजनको मात्र कम भएकोले राजाराम बेहोस भएका थिए । अक्सिजन अझै कम भएकोले मुटुको धड्कन पनि बन्द भयो र उनको मृत्यु भयो । शिक्षण अस्पतालमा आइसियूमा राखेर अक्सिजन दिएको भए राजारामलाई बचाउन सकिन्थ्यो भन्ने परिवारजनको विश्वास छ ।

लेखा अधिकृतले नै आफ्नै अस्पतालमा भर्ना पाएनन्, अरू बिरामीको अवस्था के होला ? राजाराजको मृत्यु प्रकरणले यो गम्भीर प्रश्न उठाएको छ । नयाँ पत्रिका दैनिकबाट