Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


प्रमुख प्रतिपक्षी दल निकम्मा भयो : रायमाझी


0
Shares

काठमाडौं, साउन ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपालको संसदीय ईतिहासमै अहिलेको जस्तो कमजोर प्रतिपक्षी कहिल्यै नभएको बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रतिपक्षी दल कमजोर हुनका साथै निकम्मा भएको बताए । उनले भने, ‘मैले अहिलेकोजस्तो कमजोर प्रतिपक्षी दल कहिल्यै पनि देखेको थिइनँ । म त भन्छु प्रतिपक्षी दल निकम्मा भयो । कांग्रेससँग कुनै तर्क र आधार छैन ।’ 

उनले कांग्रेसले संसद अवरुद्ध गरेकोमा पनि आक्रोश पोखे । उनले भने, ‘तर्कसर्क केही छैन, बन्द भन्यो भइगयो । सत्तापक्षका सांसदले कुरा उठाएपछि मात्रै कांग्रेसले विरोध गर्छ ।’ 

रायमाझीले तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने जिकिरसमेत गरे । उनले भने, ‘जनताका अपेक्षा र गुनासाहरु व्यापक छन् । त्यसैले जनताका अपेक्षा पूरा गर्नेगरि काम गर्नुपर्छ । व्यक्ति बदलेर केही हुँदैन । सोच र दृष्टिकोण बदल्नुपर्छ ।’

उनले तत्काल प्रधानमन्त्री परिवर्तन गर्नेबारे पार्टीभित्र कुनै छलफल तथा बहस नचलेको पनि स्पष्ट पारे । उनले भने, ‘अहिले प्रधानमन्त्री फेर्नुपर्ने आवश्यकता छैन । वर्तमान प्रधानमन्त्रीको विकल्प छैन ।’

रायमाझीले दुईवटा बेग्ला–बेग्लै पार्टी मिलेर नेकपा बनेकोले पार्टीभित्र केही विरोध तथा अन्तरहरु हुनु स्वाभाविक भएको स्पष्ट पारे । उनले भने, ‘द्वन्द्व, विवाद र अन्तरविरोध हुनु स्वाभाविक हो । यसलाई मैले सहज रुपमा लिएको छु । पार्टी एकताको अधिकांश काम सम्पन्न भइसकेका छन् । जनवर्गीय संगठन र विभागहरुको नेतृत्वको कुरा छ । यो पनि अब पार्टीको नेतृत्वले चाँडै टुँगो लगाउँछ ।’

पार्टीलाई सही दिशामा अघि बढाउनको लागि ‘रोडम्याप’ पनि तयार भैरहेको उनले जनाए । 

रायमाझीले तत्काललाई पार्टीभित्र ६०–४० वा ५५–४५ को भागवण्डाजस्तो देखिए पनि यसले निरन्तरता नपाउने जिकिर गरे । उनले भने, ‘पार्टी व्यक्तिवादी चरित्रले चल्दैन ।’