काठमाडौं, साउन ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज पनि विभागीय जिम्मेवारी टुंग्याउन सकेन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा स्कुल विभागमा दुवै पक्षको दाबी रहँदा विभागीय जिम्मेवारी बाँडफाँड नटुंगिएको हो ।
पूर्वमाओवादी पक्ष स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिन तयार नभएको बुझिएको छ । तर बैठकमा ७७ वटै जिल्लाका ईञ्चार्ज र सह–इञ्चार्जहरुको नाममा भने सहमति भएको जनाइएको छ ।
बैठकले संगठन विभागको जिम्मेवारी वामदेव गौतमलाई दिने निर्णय गरेको जानकारी नेता गौतमले नै दिएका छन् ।
यसअघि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच विभागीय जिम्मेवारीबारे सहमति भएकोमा उक्त सहमतिलाई अनुमोदन गर्न सचिवालय बैठक बसेको हो । विदेश विभागको नेतृत्व वरिष्ठ नेता माधव नेपाललाई दिने सहमति पनि यसअघि नै भईसकेको छ ।
सचिवालयको अर्को बैठक आगामी मंगलबार बस्नेछ ।









प्रतिक्रिया दिनुहोस्