चितवन, साउन ४ । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ ।
महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीकाअनुसार यसै आर्थिक वर्षबाट निर्माण हुने तथा निर्माण भइसकेका भवनमा तोकिएको रङ लगाइसकेपछिमात्र भवन निर्माण सम्पन्नता प्रमाणपत्र प्रदान गर्ने नीति लिइने छ ।
पहिलो चरणमा वडा कार्यालयलाई रङको चयन गर्न लगाइँदै छ ।
सोहीअनुरुप रङ प्रदान गर्नसक्ने वा नसक्ने विषयमा विक्रेतासँगसमेत छलफल गरी काम अघि बढाइने सुवेदीले जानकारी दिए ।
उनकाअनुसार महानगरलाई व्यवस्थित, सुन्दर र आकर्षक बनाउन एक वडा एक रङ महत्वपूर्ण हुनेछ । यसले महानगरलाई स्मार्ट बनाउन टेवा पुग्ने जनाइएको छ ।
चालू आर्थिक वर्षको सुरुआती चरणबाट कामलाई अघि बढाइने उनको भनाइ छ ।
महानगरभित्र सामूहिक आवास भवन (अपार्टमेन्ट) निर्माण गर्नेलाई नक्सापासमा आधा छुट र ‘अन्डरग्राउन्ड पार्किङ’ भएको भवनमा १५ प्रतिशत छुट गर्ने व्यवस्थासमेत गरिएको छ । रासस








प्रतिक्रिया दिनुहोस्