-शंकर खनाल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र नियमावली मस्यौदालाई लिएर विवाद बढेको छ ।
सभापति शेरबहादुर देउवा इतरका नेताहरुले सभापति थप बलियो हुन खोजेको र पार्टीलाई लगाम लगाउन खोजेको भन्दै नियमावलीको मस्यौदा सच्याउन माग गरेका छन् । उनीहरुले लोकतान्त्रिक पार्टीलाई क्याडर बेसमा लैजाने प्रयास भएको भन्दै आपत्ति जनाएका छन् ।
आफूलाई लोकतान्त्रिक पार्टीको दुहाई दिने नेपाली कांग्रेसभित्र यति बेला संशोधित नियमावलीको विषयलाई लिएर नेताहरुबीच जुहारी चल्न थालेको छ ।
मुख्यतः पार्टी सभापति पक्षधर नेताहरु र सभापति इतरका नेताहरुबीच नियमावलीको विषयलाई लिएर जुहारी चलेको हो ।
सभापति शेरबहादुर देउवा इतरका नेताहरुले संशोधित नियमावली मस्यौदाप्रति चित्त बुझाएका छैनन् ।
उनीहरुले पार्टीलाई बलियो बनाउने नाममा सभापतिले पार्टीलाई बाँध्न खोजेको आरोप लगाएका छन् ।
सभापति पक्षधर नेताहरुले भने नियमावली मस्यौदालाई ठीक भनी रहेको बेला इतरका नेताहरुले भने परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् ।
त्यति मात्र हैन पार्टीभित्र कांग्रेसलाई मासबेस पार्टी बनाउने या क्याडरबेसमा लैजाने भन्ने बिषयमा पनि विवाद जारी नै छ ।
तर, देउवा इतरका नेताहरुले भने पार्टीलाई क्याडरबेसमा लैजाने बिषय सोच्नै नसकिने बताएका छन् ।
पार्टीभित्र अनुशासनको प्रावधान, सदस्यहरुसँग लेभी वा शुल्क लिने, भ्रातृ तथा शुभेच्छुक संस्थालाई पार्टीले हेर्ने दृष्टिकोण, नीति तथा अनुसन्धान प्रतिष्ठानको विषयमा कुरा नमिल्दा केन्द्रीय समितिको बैठकसमेत धकिलिँदै गएको छ ।
कतिपय नेताहरुले पार्टीले लेबी उठाए कम्युनिष्ट पार्टी जस्तै समाप्त हुन सकिने भन्दै नेतृत्वलाई सजग पनि गराएका छन् ।
मस्यौदा नियमावली समितिले नयाँ सदस्यता शुल्क ५ सय र नवीकरण शुल्क ३ सय ६० रुपैयाँ लिने प्रस्ताव अगाडि बढाएको छ ।
तर, कतिपय नेताहरुले आफूहरुका सुझाव सम्बोधन नगरी पेल्न खोजे नराम्रो हुने चेतावनीसमेत दिएका छन् ।
कम्युनिष्ट पार्टीलाई लोकतन्त्रवादी बनाएको दाबी गर्ने नेपाली कांग्रेसभित्र न्यायपूर्ण अनुशासन नहुनु बिडम्बनापूर्ण छ ।
भलै एक हप्तापछि बस्ने केन्द्रीय समितिको बैठकले अल्झिएका बिषयमाथि छलफल गरी निकास दिने छ ।
तर, प्रतिपक्षको भूमिका पनि पुरा गर्न नसकेको आरोप लागेको नेपाली कांग्रेस अब पनि आन्तरिक विवादमा रुमलिनु पक्कै पनि राम्रो होइन ।









प्रतिक्रिया दिनुहोस्