Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


यसरी टुंगियो नेकपा एकता प्रक्रिया


0
Shares

अक्कल कुँवर

काठमाडौं, साउन १ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको १४ महिनापछि पार्टी एकताका सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच एकताका बाँकी रहेका सांगठनिक विषय टुंगो लागेको जनाइएको छ । दुई अध्यक्षबीच सांगठनिक एकता टुंगो लागेको भनिए पनि सार्वजनिक भने गरिएको छैन ।

नेकपा अध्यक्षद्वय ओली र दाहालबीच केन्द्रीय सदस्यहरुको कार्यविभाजन र केन्द्रीय विभागको नेतृत्वमा सैद्धान्तिक सहमति भएको छ । दुई अध्यक्षबीच भएको भनिएको सहमतिअनुसार ७७ जिल्लामा ४४ जिल्ला इन्चार्जको नेतृत्व पूर्वएमालेबाट र ३३ जिल्ला इन्चार्जको नेतृत्व पूर्वमाओवादीले गर्नेछ । अध्यक्षद्वयसँगै सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलको सहभागितामा भएको भनिएको सहमतिअनुसार पार्टीको ३२ केन्द्रीय विभागमध्ये १८ पूर्व एमाले र १४ विभागको नेतृत्व पूर्व माओवादीले गर्नेछ ।

केन्द्रीय विभागमध्ये संगठन, विदेश, संसदीय र राज्यव्यवस्था विभाग पूर्व एमाले, प्रचार र आर्थिक विभाग पूर्व माओवादीले लिने अध्यक्षद्वयबीच सहमति भएको स्रोतले जनाएको छ । संगठन, आर्थिक, विदेश र प्रसार विभागको नेतृत्व सचिवालय सदस्यले लिने र अन्य विभागको नेतृत्व स्थायी कमिटी सदस्यले गर्ने पनि सहमति भएको छ ।

यस्तै तीन केन्द्रीय आयोगमध्ये दुई आयोगको नेतृत्व पूर्व एमाले र एउटा आयोगको नेतृत्व पूर्व माओवादी केन्द्रले गर्ने सहमति भएको स्रोतको भनाइ छ । अध्यक्षद्वयबीच जिल्ला इन्चार्ज र सहइन्चार्जको नेतृत्व जिल्ला अध्यक्ष र सचिव चयन गर्दाको विधि अवलम्बन गरि केन्द्रीय सदस्यलाई कार्यविभाजन गरिएको बताइएको छ ।

केही जिल्ला इञ्चार्ज र विभागमा थप छलफल आवश्यक भएको नेताहरूले बताएका छन् । विभाग बाँडफाँट भए पनि व्यक्ति भने आ–आफ्नो समूहबाट तोक्ने अध्यक्षद्वयबीच सहमति भएको छ । अध्यक्षद्वयबीचको सहमति सचिवालय बैठकमा प्रस्तुत गरिने र आवश्यक छलफल गरेर सांगठनिक एकताको अन्तिम टुङ्गो लागेपछि मात्र सहमति सार्वजनिक गरिने जनाइएको छ ।

सहमतिमाथि थप छलफल गरी टुङ्गो लगाउन साउन ५ गते सचिवालय बैठक बोलाइएको छ । सचिवालय बैठकपछि साउनभित्रै स्थायी कमिटी र त्यसपछि केन्द्रीय कमिटी बैठक बसेर सचिवालयले गरेका निर्णय अनुमोदन गर्ने नेकपाले जनाएको छ ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकता घोषणा भएको थियो ।