रौतहट, साउन १ । गृहमन्त्री रामबहादुर थापाले बाढी प्रभावित क्षेत्रमा छिट्टै पुनर्निर्माण थाल्ने बताएका छन् ।
प्रदेश २ का बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न नेपाली सेनाको हेलिकोप्टरबाट रौतहट आएका गृहमन्त्री थापाले उद्धार कार्य सकिएको र अब पुनर्निर्माणको काम अगाडि बढाउने बताए ।
गृहमन्त्री थापासहित उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, यातायातमन्त्री रघुवीर महासेठ, उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुन, नेकपा नेता माधवकुमार नेपाल पनि अवलोकनमा आएका थिए ।
यस्तै, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, संसदको विकास समितिका सभापति कल्याणी खड्का र रौतहटका सांसद प्रभु साह पनि हेलिकप्टरबाट बाढी तथा डुबान प्रभावित क्षेत्रको अवलोकनमा सहभागी थिए ।
जनकपुर हुँदै उनीहरु नेपाली सेनाको हेलिकप्टरबाट रौतहट आएका हुन् ।
अवलोकनमा गएका आधादर्जन मन्त्रीहरु बाढी पीडितलाई भेट्दै नभेटी नेपाली सेनाको ईन्द्रबक्स गणबाट नै फर्किएका थिए । मन्त्री र नेताहरु सैनिक ब्यारेकबाट फर्केपछि पीडितहरु आक्रोसित भएका छन् ।
अघिल्लो साता परेको भारी वर्षाले प्रदेश २ मा ठूलो क्षति पु¥याएको छ । हालसम्म देशभर बाढीपहिरो परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।









प्रतिक्रिया दिनुहोस्