Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


सिद्धबाबा सडकखण्डका विषयमा प्रदेशसभामा ध्यानाकर्षण


0
Shares

खस्यौली, असार २९ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सिद्धबाबा सडकखण्डको विषयमा प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा आइतबार बसेको बैठकको विशेष समयमा पाल्पाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्य तुलाराम घर्तीमगरले सिद्धबाबा सडकखण्ड ठेकेदारको लापरवाहीले निर्धारित समयमा सम्पन्न हुुन नसकेको उल्लेख गर्दै सरकारको असारे नीतिलाई सच्चाउनुपर्नेमा जोड दिए ।

उनले कानूनी प्रक्रियालाई देखाएर अल्झिन नहुने विचार राख्दै सङ्घीय सरकारको जिम्मेवारी भए पनि प्रदेश सरकार पन्छिन नहुने बताए । प्रदेशसभा सदस्य घर्ती मगरले भने, ‘बजेट विनियोजन गरेर ठेकेदार पाल्नेबाहेक खास काम केही भएन ।’ 

बैठकमा सभामुख पूर्णबहादुर घर्तीले अर्थसँग सम्बन्धित दुई विधेयक प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाएका थिए ।

त्यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेकोे विधेयक र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत गरे । (रासस)