काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।
पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका, पार्टी नियमावली, भ्रातृ संगठनहरुको अधिवेशन, पहिलो चरणको जागरण अभियानको समीक्षालगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र सरकारको कार्यशैलीबारे पनि छलफल हुने छ ।
विधानअनुसार प्रत्येक चार/चार वर्षमा हुने महाधिवेशन २०७६ फागुनमा हुनुपर्ने भए पनि सभापति शेरबहादुर देउवाले डेढ वर्ष कार्यकाल लम्ब्याउने तयारी गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहका नेताहरु अर्को महाधिवेशनको मिति तय गरेर त्यहीअनुसार कार्यतालिका पारित गर्नुपर्ने पक्षमा छन् ।
केन्द्रीय समितिको बैठकमा यो विषयमा गम्भीर बहस हुने बताइएको छ । त्यस्तै गत आइतबारको बैठकमा पेश भएको पार्टीको नियमावलीबारे पनि गम्भीरताका साथ छलफल हुने कांग्रेसले जनाएको छ ।
नियमावली मस्यौदा समितिका संयोजक रमेश लेखकले पेश गरेको नियमावलीले कांग्रेसलाई मास वेशबाट क्याडर वेशमा लैजाने प्रस्ताव गरेको छ ।
बैठकले संक्रमणकालीन व्यवस्थाअनुसार अन्तरिम कालका लागि एकीकृत भएका संगठनमा अधिवेशन गर्ने कि तदर्थ समिति बनाउने भन्ने विषयमा निर्णय लिनेछ ।









प्रतिक्रिया दिनुहोस्