Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


‘गृहमन्त्रीलाई गलत प्रतिवेदन पुगेको हो कि उनले सदनलाई ढाँटेको हो ?’ (भिडियो)


0
Shares

अक्कल कुँवर र दिलिप पोखरेल (इमेज)

काठमाडौं, असार २४ । प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले सर्लाही घटनाको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै मंगलबार संसद अवरोध गरेका छन् ।

सर्लाहीमा यही असार ५ गते कुमार पौडेल र असार १४ गते सरोजनारायण सिंहको हत्या भएको विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न संसदीय समिति गठनको माग गर्दै प्रतिपक्ष दलका सांसदहरुले संसद अवरोध गरेका हुन् ।

बैठकको सुरुमै प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद पुष्पा भुसाल र राजपाका सांसद राजकिशोर यादवले सभामुखसँग समय मागेर सर्लाहीमा भएको हत्या घटनाबारे गृहमन्त्रीको जवाफ मागेका थिए ।

लगत्तै गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक महत्वको विषयमा बोल्न सभामुखसँग समय मागेर सर्लाही घटनाबारे संसदलाई जानकारी दिए ।

गृहमन्त्री थापाले सर्लाहीमा प्रहरीसँगको दोहोरो भिडन्तमै कुमार पौडैलको मृत्यु भएको बताए ।

यस्तै, सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ को बाँके जंगलमा पर्ने राजमार्गमा स्थानीयले अवरोध गरेको र उक्त अवरोध हटाउन खोज्दा सुरक्षाकर्मीमाथि नै आक्रमण भएपछि प्रहरीले गरेको हवाईफायरकाक्रममा स्थानीय सरोजनारायणको मृत्यु भएको गृहमन्त्री थापाले बताए ।

तर, प्रतिपक्ष दलका सांसदहरुले ‘घटनाबारे गृहमन्त्रीलाई गलत छानबिन प्रतिवेदन पुगेको हो कि उनले सदनलाई ढाँटेको हो ?’ भन्दै प्रश्न गरे ।

प्रतिपक्ष सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले शान्ति–सुरक्षा कायम गर्ने र लोकतन्त्रको रक्षा गर्ने राज्यको दायित्व निभाउनेक्रममा सर्लाहीमा घटना भएको बताए ।

तर, गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएको भन्दै प्रतिपक्ष दलका सांसदहरुले घटनाको छानबिनका लागि तत्काल संसदीय समिति गठन गर्न माग गर्दै उठेर विरोध गरे ।

सभामुख कृष्णबहादुर महराले संसदीय छानबिन समिति गठनका लागि पहल गर्ने आश्वासन दिएपनि सांसदहरुले विरोध जारी राखे ।

विरोधकैबीच सभामुख महराले सत्तारुढ दलका सांसद खगराज अधिकारीलाई बोल्न समय दिएपछि प्रतिपक्ष सांसदहरु ‘रोष्ट्रम’ घेराउ गर्न पुगे ।

पटक–पटक आग्रह गर्दा पनि प्रतिपक्षका सांसदहरुले रोष्ट्रममा नाराबाजी जारी राखेपछि सभामुख महराले बैठक १५ मिनेटका लागि स्थगित गरे ।

त्यसपछि उनले सत्ता र प्रतिपक्षसँग बैठक सुचारु गर्न छलफल गरे । छलफलमा सत्तापक्ष कुमार पौडेलको हत्या विषयमा संसदीय छानबिन समिति गठन गर्न सहमत नभएपछि संसद बैठक सूचना टाँसेर बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरियो ।

भिडियो हेर्नुहोस्