Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको म्याद तीन वर्ष थप्नुको कारण माग


0
Shares

काठमाडौं, असोज २० । संसदीय समितिले सरकारसँग काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको म्याद तीन वर्ष थप्नुको कारण माग गरेको छ ।

संघीय संसदअन्तर्गतको विकास तथा प्रविधि समितिको मंगलबार बसेको बैठकले सरकारसँग काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको म्याद एकैपटक तीन वर्ष थप्नुको कारण माग गरेको हो ।

समितिले म्याद थप्नुको आधार र कारण समितिमा पेस गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।

समितिले कुनैपनि राष्ट्रिय गौरवका आयोजनाहरुको सुरुआत गर्नुअघि नै मुलुकको आर्थिक क्षमता, स्रोत-साधनलगायतका विषयको अध्ययन गरी आयोजना निर्माणको सुरुआत गर्नपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।

समितिले काठमाडौं–तराई–मधेस द्रुतमार्गको कार्य सम्पन्न गर्न हालै छनोट भएको अन्तर्राष्ट्रिय कन्सल्ट्यान्ट कम्पनी एवं निर्माण व्यवसायी कालोसूचीमा परेको भन्ने सार्वजनिक भएको भन्दै पाँच दिनभित्र यसबारे समितिमा जानकारी पेस गर्न आयोजनालाई निर्देशन दिएको छ ।

यस्तै, काठमाडौं–तराई द्रुतमार्गको ठेक्कासम्बन्धी कामहरुकाबारेमा जनताबाट प्रश्न उठिरहेको भन्दै समितिले पारदर्शी र विश्वसनीय ढंगले काम गर्न द्रुतमार्ग आयोजना र नेपाली सेनालाई निर्देशन दिएको छ ।