Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


१४ महिनापछि टुंगियो सत्तारुढ नेकपाको राजनीतिक प्रतिवेदन


0
Shares

अक्कल कुँवर र जयराम बास्तोला (इमेज)

काठमाडौं, असार २३ । पार्टी एकता घोषणा भएको १४ महिनापछि सत्तारुढ दल नेकपाको राजनीतिक प्रतिवेदन टुंगो लागेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको ‘वान टु वान’ वार्ताले राजनीतिक प्रतिवेदनलाई टुंग्याएको हो ।

प्रतिवेदनलाई छपाइका लागि सोमबार प्रेसमा पठाइएको छ ।

वैचारिक कार्यदिशामा सहमति जुट्न नसक्दा पार्टी एकता घोषणा भएको १४ महिनासम्म राजनीतिक प्रतिवेदन प्रकाशन हुन सकेको थिएन ।

तर, आइतबार दुई अध्यक्षबीचको वार्तामा पूर्वसहमतिअनुसार पार्टीको वैचारिक कार्यदिशा ‘जनताको जनवाद’ राख्ने सहमति जुटेपछि प्रतिवेदनले अन्तिमरुप पाएको हो ।

एकताका बेला तत्कालीन नेकपा एमालेको ‘जनताको बहुदलीय जनवाद’ र तत्कालीन माओवादी केन्द्रको ‘एक्काइसौं शताब्दीको जनवाद’लाई स्थगित गरेर एकता महाधिवेशनसम्म वैचारिक कार्यदिशा जनताको जनवाद हुने सहमति थियो ।

तर, सहमतिविपरीत अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद राख्न प्रस्ताव गरेपछि नेकपाभित्र वैचारिक विवाद चर्किएको थियो ।

आइतबार एक सार्वजनिक कार्यक्रममा अध्यक्ष दाहालले पूर्वसहमतिअनुसार नै पार्टीको वैचारिक कार्यदिशामा जनताको जनवाद राख्ने सहमति जुटेको जानकारी दिए ।

पार्टी एकतालगत्तै वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वको समितिले राजनीतिक प्रतिवेदन तयार पारेको थियो ।

समितिले प्रतिवेदनलाई आवश्यक सम्पादन गरी अन्तिमरुप दिएर प्रकाशनमा पठाउने जिम्मा अध्यक्षद्वयलाई दिएको थियो ।

तर, दुईपक्षबीच किचलो उत्पन्न भएपछि प्रतिवेदनले अन्तिमरुप लिन नसकी प्रकाशन हुन सकेको थिएन ।

प्रतिवेदन नछापिँदा पार्टीको राजनीतिक कार्यदिशा, इतिहासको मूल्यांकन, अन्तर्राष्ट्रिय सम्बन्ध र अन्य पार्टीलाई हेर्ने दृष्टिकोणबारे नेता तथा कार्यकर्तामा अन्योल थियो ।

वरिष्ठ नेता नेपाल नेतृत्वको समितिले तयार पारेको राजनीतिक प्रतिवेदनमा समाजवादउन्मुख जनताको जनवाद राजनीतिक कार्यक्रम, तत्कालीन एमालेको नेतृत्वमा सन्चालित शान्तिपूर्ण र वैधानिक संघर्षले कम्युनिस्ट आन्दोलनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा स्थापित गर्न खेलेको भूमिका उल्लेख गरिएको छ ।

यस्तै, तत्कालीन माओवादीको नेतृत्वमा सन्चालित ‘जनयुद्ध’ले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र विभिन्न सांस्कृतिक समुदायमा राजनीतिक तथा सामाजिक जागरण ल्याउन भूमिका खेलेको उल्लेख छ ।

अध्यक्षद्वयबीचको पछिल्लो सहमतिले नेकपाभित्र केही समयदेखि चर्किएको वैचारिक कार्यदिशाको विवाद आगामी महाधिवेशनसम्म साम्य हुने देखिएको छ ।

भिडियो हेर्नुहोस्