Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


राखेप सदस्यसचिवमा रमेश सिलवाल नियुक्त, लिए शपथ


0
Shares

काठमाडौं, असार २३ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा रमेश सिलवाल नियुक्त भएका छन् ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सोमबार सिलवाललाई सदस्यसचिवमा नियुक्त गरेका हुन् ।

सिलवाललाई सोमबारै खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री विश्वकर्माले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

निवर्तमान सदस्यसचिव केशवकुमार विष्टको चारवर्षे कार्यकाल असार ९ गते पूरा भएपछि रिक्त पदमा सिलवाललाई नियुक्त गरिएको हो ।

सिलवाललाई पहिला राष्ट्रिय खेलकुद संघको तर्फबाट रिक्त कोटामा परिषद् सदस्यमा नियुक्त गरेपछि सदस्यसचिवको जिम्मेवारी तोकिएको हो ।

सिलवाललाई आइतबार नेपाल भलिबल संघले राखेपको बोर्ड सदस्य नियुक्तिका लागि सिफारिस गरेको थियो ।

संघहरुको प्रतिनिधित्व गर्दै परिषद्मा नियुक्ति लिएका राखेपका निर्वतमान सदस्यसचिव विष्ट र सदस्य राजेन्द्र श्रेष्ठको पदावधि सकिएपछि दुई पद रिक्त थियो ।

सिलवाल यसअघि विष्ट नेतृत्वको परिषद्बाट गठित नेपाल क्रिकेट संघ (क्यान)को तदर्थ समितिको अध्यक्ष थिए । सिलवाल पूर्वक्यान उपाध्यक्ष पनि हुन् ।

उनी मदन भण्डारी स्पोर्ट्स फाउन्डेसनका संस्थापक अध्यक्षसमेत हुन् ।

गोल्डेनगेट कलेजका ‘सीइओ’ उनी उच्च माध्यामिक विद्यालयहरुको संस्था ‘हिसान’को अध्यक्षसमेत भएका थिए ।