बिराज रोस्यारा (इमेज)
कैलाली, असार २३ । सुदूरपश्चिम प्रदेशसभामा सोमबारदेखि आगामी आर्थिक वर्षका लागि पेस भएको बजेटमाथि छलफल प्रारम्भ भएको छ ।
बजेटको विरोध गरेर हस्ताक्षर संकलन गरेका सत्तापक्षीय सांसदहरुले सांकेतिक विरोध गर्दै छलफलमा भाग लिन नमानेपछि नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ आफैंले पहिलो दिन बजेटमाथिको छलफमा भाग लिए ।
प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिका सदस्यसमेत रहेका प्रमुख सचेतक तामाङले टेलिफोन गरी आफ्नो पार्टीका सासंदहरुलाई बजेटमाथिको छलफमा भाग लिन अनुरोध गरेपनि बैठकमा बोल्न तयार भएनन् ।
बजेटको विरोधमा हस्ताक्षर गरेका सांसदहरु सोमबारको बैठकमा अनुपस्थित रहेका कारण तामाङ आफैंले बोल्नुपरेको हो ।
छलफलमा भाग लिँदै प्रमुख सचेतक तामाङले प्रदेश सरकारप्रति व्यंग्य गर्दै कमी–कमजोरी सच्याउने भनी प्रतिपक्षसित सहमति गरेकाले आफूलाई पनि सरकारप्रति आशा नै रहेको बताए ।
एकदमै लोकप्रिय सरकारको एकदमै लोकप्रिय बजेट आएको बताउँदै उनले सरकारले सुदूरपश्चिमवासीका चाहनालाई ध्यान दिएको बताए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद श्यामलाल रानाथारुले सरकारले प्रतिपक्षसित गरेको सहमतिअनुसार काम गर्नुपर्ने र रातो किताबमा देखिएका प्राविधिक त्रुटिहरु सच्याउनुपर्ने बताए ।
कांग्रेसकै सांसद टेकबहादुर रैका आउजीले सरकारले समानुपातिक सांसदलाई सांसद नै नभएकोजस्तो व्यवहार गरेको आरोप लगाए ।
प्रदेशसभामा बजेटमाथिको छलफल निरन्तर रहने र मंगलबार बिहान साढे ८ बजेबाट थप छलफल हुने सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्