काठमाडौं, असार २३ । प्रस्तावित चार राजदूतहरुको संसदीय सुनुवाइ बीचमै रोकिएको छ ।
संसदीय सुनुवाइ समितिको आज बिहान बसेको बैठकमा राजदूतहरुको सुनुवाइ सुरु गरिए पनि बीचमै रोकिएको हो । बिहान रोकिएको सुनुवाइ दिउँसो ३ बजे बस्ने बैठकमा पुनः सुरु गरिने समितिका सदस्यहरुले बताएका छन् ।
अस्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि डा. वंशीधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका लागि दावाफुटी शेर्पाको नाम सरकारले प्रस्ताव गरेकोमा आज समितिले सुनुवाइ गर्न लागेको हो ।
गत जेठ २३ गते सरकारले उनीहरुको नाम राजदूतमा प्रस्ताव गरेको थियो । आज बिहानको बैठकमा मिश्रका विषयमा सुनुवाइ सुरु भएपछि बैठक स्थगित गरिएको हो ।
समितिले प्रस्तावित राजदूतहरुविरुद्ध कुनै उजुरी भए उजुरी दिन असार १४ गतेसम्मको समयसीमा दिएको थियो । प्रस्तावित राजदूतहरुविरुद्ध दुई वटा मात्र उजुरी परेका छन् । तर उजुरीकर्ता छलफलमा आउन नचाहेकाले समितिमा ती उजुरीमाथि छलफल नहुने भएको छ ।
समितिले प्रस्तावित चारै जनाको नाम अनुमोदन गर्ने तयारी गरेको छ । समितिले नाम अनुमोदन गरेपछि राजदूत नियुक्तिको बाटो खुल्ने छ ।









प्रतिक्रिया दिनुहोस्