Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


नेकपाको राजनीतिक प्रतिवेदनसम्बन्धी विवाद टुंगिएको दाहालको दावी


0
Shares

काठमाडौं, असार २२ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी एकताको महत्वपूर्ण कडीका रुपमा रहेको राजनीतिक प्रतिवेदनबारे देखिएको विवाद टुंग्याइएको बताएका छन् । उनले राजनीतिक प्रतिवेदन भोलि नै प्रकाशनका लागि प्रेसमा जाने दावी गरे ।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको आइतबार काठमाडौंमा आयोजित महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले बालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री केपी ओली र आफूबीच भएको छलफलपछि एक वर्षदेखि सम्पूर्ण रुपले सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन टुंग्याइएको बताए । ‘भोलि त्यो प्रकाशनमा जाँदैछ,’ उनले भने, ‘पार्टी एकताका सन्दर्भमा यो एउटा ठूलो काम हामीले आज पूरा गरेका छौँ ।’

राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक नीति कुनचाहिँ आधिकारिक हो ? कुन नेताले भनेको पार्टीको लाइन हो ? कुन होइन भन्ने कन्फ्युजनजस्तो देखिएको जिकिर गर्दै उनले अब प्रतिवेदन छापिएर आएपछि सबैखाले कन्फ्युजन हट्ने बताए ।

उनले आगामी महाधिवेशन पार्टी एकताको महाधिवेशन हुने प्रष्ट पारे ।

‘एकताको महाधिवेशनमा विचार, राजनीति र नेतृत्व सम्बन्धी निर्णय सहमतिको आधारमा गर्नेछौँ,’ उनले भने, ‘अल्पमत वा बहुमतको आधारमा गर्ने छैनौँ भनेर हामी सबैले हस्ताक्षर गरेका छौँ ।’ 

उनले आगामी अधिवेशनमा विचार, राजनीति र नेतृत्वसम्बन्धी निर्णय सहमति र समझदारीबाटै हुने दावी गरे ।

अध्यक्ष दाहालले पटक–पटक कम्युनिष्ट आन्दोलनलाई दबाउने, कुल्चिने निकै ठुला कसरतहरु समेत भएको उल्लेख गर्दै भने, ‘राणाकालदेखि ०६२÷०६३सम्म आईपुग्दा हामीले त्यस्ता थुप्रै थुप्रै कसरतहरु देख्यौं र त्यसको प्रतिवाद हामीले ग¥यौं ।’ 

उनले असार महिनाभित्र एकताको बाँकी सबै काम सकेर साउनबाट पार्टीले गाउँ गाउँसम्म अभियान चलाउने बताए । एकताका सबै कामहरु सहमतिबाटै टुंगिने प्रक्रियामा पुगिसकेको उनको भनाइ थियो ।

ठूलो बलिदानी र त्याग गर्ने कम्युनिष्टहरु शासनमा पुग्दा शासन कमजोर देखिएको भन्दै यसलाई सच्याउन आफुहरुमाथि ठूलो चुनौति रहेको उनले बताए । उनले विश्वभरिको तितो अनुभबबाट सिक्दै कम्युनिष्ट आन्दोलनलाई माथि उठाउन लागिपरेको बताए ।

‘जस्तोसुकै बलिदान गर्न पछि नपर्ने र जनताको भरोसा लिन सिपालु हुने कम्युनिष्टहरु शासनमा पुगिसकेपछि शासन चलाउन नजान्ने,’ उनले भने, ‘विश्वभरि बडो एउटा नकारात्मक तितो एउटा अनुभव देखिएकै छ ।’ 

उनले अगाडि भने, अक्टुबर समाजवादी क्रान्तिदेखि अहिलेसम्म आन्दोलन गर्ने हदसम्म लोकप्रिय शासन गर्ने ठाउँमा पुग्दा त्यो लोकप्रियताको ग्राफ माथि जाला भन्दा तलतिर ओर्लिने जुन खतरा छ हामीले त्यसको सामना गर्नुछ । हामी त्यो अग्नि परीक्षामा छौं ।’