Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


सांसदहरुका चासोबारे सदनलाई जानकारी दिन रुलिङ


0
Shares

काठमाडौं, असार २२ । सभामुख कृष्णबहादुर महराले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय लगायतका सांसदहरुका चासोबारे सदनलाई जानकारी दिन सरकारलाई रुलिङ गरेका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको सुरुमै प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै सरकारबाट जवाफ माग गरेका थिए ।

खाँणले सरकारले संविधानले नै व्यवस्था गरेको शक्ति पृथकीकरणको सिद्धान्त विपरितका काम गरेको, इन्काउन्टरका नाममा मुलुकका विभिन्न भागमा प्रहरीबाट सर्वसाधारण मार्ने काम भएको भन्दै आपत्ति जनाए ।

यस्तै, राजपा नेपालका सांसद प्रमोद साहले राज्यले मधेशी र थारु समुदायप्रति क्रुर र अमानवीय व्यवहार गरिरहेको भन्दै इन्काउण्टरका नाममा भईरहेको प्रहरी दमनबारे सदनलाई जानकारी दिन माग गरे ।

यसैबीच, प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेकोप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको राष्ट्रवादले घुँडा टेकेको जिकिर गर्दै घुँडामा कत्रो भ्वाङ प¥यो भन्दै प्रश्न गरे ।

सत्तारुढ दलका सांसद छक्कबहादुर लामाले सन् २०२० मा सरकारले पर्यटन वर्ष घोषणा गरेको तर मुलुककै राजधानीका सडक हिलाम्य र धुलाम्य रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

यस्तै, सांसदहरु अमनलाल मोदी, चित्रलेखा यादव,कृष्णभक्त पोखरेल, उमा रेग्मी, इन्दुकारी शर्मा, अग्नी सापकोटा लगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए ।