Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


पूर्वआइजीपी ठकुरीद्वारा अदालतमा आत्मसमर्पण, फैसला कार्यान्वयनका लागि जेल चलान


0
Shares

काठमाडौं, असार १९ । सुडान घोटालाकान्डमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेशचन्द ठकुरीले बिहीबार सर्वोच्च अदालतसमक्ष आत्मसमर्पण गरेका छन् ।

दोषी ठहर भएको दुई वर्षपछि ठकुरीले सर्वोच्चमा आत्मसमर्पण गरेका हुन् ।

सर्वोच्चले फैसला कार्यान्वयनका लागि ठकुरीलाई बिहीबारै डिल्लीबजार कारागार पठाएको छ ।

सर्वाेच्च अदालतले दुई वर्षअघि सुडान घोटाला प्रकरणमा पूर्वआइजीपीहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी, पूर्वएआइजी दीपकसिंह थाङदेन, पूर्वडीआइजी दीपक श्रेष्ठलाई दोषी ठहर गरेको थियो । उनीहरु सबैजनाले कैद भुक्तान गरिसकेका छन् ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाल प्रहरीका लागि बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार गरेको ठहर गरेको थियो ।

ठकुरीलाई एक वर्ष कैद र ४० हजार जरिवाना गर्ने फैसला भएको थियो ।

०६८ जेठ २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुडान घोटाला प्रकरणमा तीनजना पूर्वआइजीपी, बन्दोबस्तीका सामान आपूर्ति गर्ने ठेकेदारसहित ३४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकामा विशेष अदालतले उनीहरुबाट एक अर्ब १४ करोड रुपैयाँ असुल गर्नुपर्ने फैसला गरेको थियो ।