काठमाडौं, असार १९ । नेपाल पुलिस क्लब ललित स्मृति कप यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा क्वार्टरफाइनलनजिक पुगेको छ ।
लगातार दोस्रो जित हासिल गर्नेक्रममा बिहीबार सरस्वती युथ क्लबमाथि शानदार ५–१ को जित निकाल्दै पुलिस अन्तिम आठनजिक पुगेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसलाई जिताउनेक्रममा सञ्जु सेनले ह्याट्रिक पूरा गरे ।
यस्तै, रबिन राई र एन्सन राईले एक/एक गोल गरे । पुलिसका बिजेन राईले एक आत्मघाती गोल गरेका थिए ।
‘लिगकम नकआउट’का आधारमा ‘ए’ डिभिजनका १४ क्लबलाई तीन समूहमा विभाजन गरी खेलाइएको प्रतियोगितामा समूह चरणका विजेता र उपविजेतासहित उत्कृष्ट दुई टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वउपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा एन्फाले आयोजना गरेको प्रतियोगिताको विजेताले तीन लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।








प्रतिक्रिया दिनुहोस्