Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


‘आन्दोलनमा उत्रिनका लागि जनदबाब बढ्दै गएको छ’


0
Shares

काठमाडौं, असार १८ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पटक–पटक उठाएका माग सम्बोधन नभएपछि सरकारलाई दिएको समर्थन फिर्ता लियो ।

बजेटका कारण सरकारलाई ‘पर्ख र हेर’को अवस्थामा राखेका भन्दै राजपाले पछिल्लो समयमा अबपनि मागको सुनुवाइ नभए संसद छाड्ने घोषणा गरिरहेको छ ।

संविधान जारी हुने समयमा असहमति जनाउँदै राजपा संविधानसभा नै छाडेर बाहिरिएको थियो । ऊ त्यही एजेन्डा लिएर निर्वाचनमा गयो ।

निर्वाचनमा राजपाले संविधान संशोधन र मधेस तथा थरुहट आन्दोलनकाक्रममा लगाइएका मुद्दा फिर्तालाई एजेन्डा बनायो ।

निर्वाचनपछि नेकपाले सरकार निर्माण गरिरहँदा उसको यही एजेन्डामा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति जनाएको भन्दै सरकारलाई समर्थन गर्‍यो । तर, मागमा सुनुवाइ नभएपछि यो विषय लगातार संसदमा उठायो ।

यसैबीच, सांसद रेशम चौधरीलाई अदालतले दोषी ठहर गरेपछि उसले मधेस तथा थरुहट आन्दोलनको छानबिन गर्न गठित गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्न थाल्यो । तर, कुनैपनि विषयमा सुनुवाइ नभएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो ।

समर्थन फिर्ता लिएपनि उसले यो विषय संसदमा लगातार उठाइरहेको छ । प्रतिवेदन सार्वजनिक गर्न सभामुखले पटक–पटक ‘रुलिङ’ गरिसकेका छन् भने सरकारले पनि सार्वजनिक गर्ने प्रतिवद्धता जनाइरहेको छ ।

तर, प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै अहिले राजपाले संसद छाडेर आन्दोलनमा जाने र आफूहरु ‘संसद छाडेर हिँडे देशको स्वास्थ्य ठीक नहुने’ बताइरहेको छ ।

राजपाले संसदीय व्यवस्थाप्रति पूर्ण प्रतिबद्धता रहेको तथा ‘निर्वाचन लडेर संसदमा आउनु पनि स्वरुप परिवर्तन गरेर आन्दोलनकै अवस्था हो’ भनेको छ ।

जनताले आफूहरुलाई दबाब दिइरहेको भन्दै सांसद कर्णले ‘जनताले तिम्रो कुरापनि सरकारले सुन्दैन, तिमी आन्दोलनमा पनि आउँदैनौ किन ? भनेर प्रश्न गरिरहेको’ बताए ।

उनले सरकारले माग सुनुवाइ नगरेपनि जवाफसम्म दिइरहेकाले आफूहरु पर्ख र हेरको अवस्थामा रहेको बताए ।

भिडियो हेर्नुहोस्