२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


सभामुख र उपसभामुखसम्बन्धी संवैधानिक व्यवस्था कार्यान्वयन गर्न माग


0
Shares

काठमाडौं, जेठ ३० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा भाग लिँदै उनले नेपालको संविधानमा सभामुख र उपसभामुख फरक लिंग र दलको हुनुपर्छ भन्ने स्पस्ट प्रावधान रहेको हुँदा त्यसको कार्यान्वयन होस् भनी माग गर्दै भने–‘संसदीय लोकतन्त्रमा नयाँ दल जन्मने र एकीकरण हुने स्वाभाविक प्रक्रिया हो, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भइ नेकपा गठन भएकामा बधाइ र शुभकामना छ ।’

नेकपाका सचेतक खगराज अधिकारीले सभामुख र उपसभामुखले निर्वाचनलगत्तै दल त्याग गरिसकेका अवस्थामा सभामुख र उपसभामुख एउटै दलबाट हुनुहुँदैन भन्ने ढंगले बारम्बार कुरा उठाइनु ठीक नभएको टिप्पणी गरे ।

नेकपाका योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका समयमा नेपालको व्यापार घाटामा सन्तुलन कायम गर्न नेपाली अलैंची महत्वपूर्ण माध्यम हुने भएकाले त्यसको निकासीबारे छलफल गर्न सुझाव दिए ।

उनले भने–‘नेपालको वैदेशिक घाटा धेरै छ, त्यसलाई कम गर्न मुलुकको ४७ जिल्लामा एक लाखभन्दा बढी कृषकको संलग्नतामा अहिले १० अर्ब रुपैयाँभन्दा बढी मूल्यको अलैंची उत्पादन भइरहेको छ, चीनमा पनि नेपाली अलैंचीको बजार बनाउन सकियो भने व्यापार घटालाई सन्तुलन गर्न योगदान पुग्नेछ ।’

ताप्लेजुङलाई अलैंचीको ‘सुपर जोन’ घोषणा गर्न माग गर्दै भट्टराईले नेपाली अलैंचीको सबैभन्दा ठूलो बजार भारत भएपनि विगतको तुलनामा भारतमा अलैंची निकासी कम भइ किसानले लागत मूल्यसम्म पाउन नसकेकोतर्फ ध्यानाकर्षण गराए ।

उनले भने–‘बगंलादेशसँग कुराकानी गरेर अलैंचीको निकासीको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दछु । अहिले भुटान हुँदै बंगलादेश पुग्ने गरेको अलैंचीमा ठूलो भन्सार मूल्य लगाइएकाले सीधै बंगलादेशसँग कुराकानी गरेर त्यहाँ पठाउन सकिएमा नेपाली अलैंचीकोे ठूलो बजार बंगलादेश हुनसक्छ ।’ रासस