
काठमाडौं । पूर्वराज्यमन्त्री संजय साहलाई धनुषा जिल्ला अदालतले जनकपुरका सञ्चार उद्यमी अरुण सिंहानिया हत्याकाण्डमा समेत दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।
जनकपुर बमकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका साहलाई सञ्चार उद्यमी हत्याकाण्डमा समेत मुख्य योजनाकार ठहर गर्दै जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको हो ।
रेडियो जनकपुर तथा जनकपुर टुडे पत्रिकाका सञ्चालक सिंहानियाको २०६६ साल फागुन १७ गते होली पर्वका दिन जनकपुरको शिव चोकमा गोली हानेर हत्या गरिएको थियो ।
धनुषा जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले सञ्चार उद्यमी हत्याकाण्डमा योजनाकारको रुपमा पूर्व मन्त्री साह र साहको निर्देशनमा गोली हानेर सिंहानियाको हत्या गरेको बयान दिएका मनक लामालाई जन्मकैदको फैसला सुनाएको हो ।
यस्तै सिंहानिया हत्या आरोपमा पूर्वपक्षका लागि थुनामा रहेका एकलाल सहनी, पवन लामा र चनरदीप यादवलाई १० वर्षको कैद सुनाइएको छ भने रामविनोद यादवलाई ३ वर्ष कैदको फैसला गरेको हो ।
यस्तै ओमप्रकाश यादव, रामकरण यादव र अन्सी राइनले सफाइ पाएका छन् भने मुकेश चौधरीलाई २० रुपैयाँ जरिवाना गरेको छ ।
यसअघि पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बमकाण्डको मुख्य योजनाकारको आरोपमा जिल्ला अदालत धनुषाले दोषी ठहर गर्दै २०७५ चैत १४ गते पूर्वमन्त्री साहलाई जन्मकैदको सजाय सुनाएको थियो ।
पूर्व मन्त्री साह काठमाडौंको नख्खु कारागारमा जेल जीवन बिताइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्