काठमाडौं, असार १७ । भारतीय ओपनिङ ब्याट्सम्यान रोहित शर्माले विश्वकप एकदिवसीय क्रिकेटको एकै संस्करणमा सर्वाधिक शतक बनाउने खेलाडीको कीर्तिमान बराबर गरेका छन् ।
रोहितले सन् २०१५ मा श्रीलंकन खेलाडी कुमार सांगाकाराले बनाएको चार शतकको कीर्तिमानको बराबरी गरेका हुन् ।
रोहितले जारी विश्वकपमा दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र बंगलादेशविरुद्ध शतक बनाएका हुन् ।
बर्मिङ्घममा जारी बंगलादेशविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा ३१४ रन बनायो ।
रोहितले पहिलो विकेटका लागि लोकेश राहुलसित मिलेर १८० रनको साझेदारी गर्दै ९२ बलमा १०४ रन बनाए । राहुलले ७७ रन जोडे ।
त्यस्तै, ऋषभ पन्तले ४८ तथा महेन्द्रसिंह धोनीले ३५ रनको योगदान गरे ।
बंगलादेशका मुस्तफिजुर रहमान एक्लैले ५ विकेट लिए। अलराउन्डर शकिब अल हसन, रुबेल हुसेन र सौम्य सरकारले १/१ विकेट झारे ।
पछिल्लो खेलमा इंग्ल्यान्डसित पराजित भएको भारत बंगलादेशलाई हराएमा सेमिफाइनलमा पुग्नेछ ।
त्यस्तै, इतिहासमै पहिलोपल्ट आइसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाउन लिग चरणका बाँकी दुवै खेल जित्ने प्रयासमा रहेको बंगलादेशले पनि जितकै अपेक्षा गरेको छ ।
समान ७ खेलबाट भारत ११ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ । बंगलादेशको ७ अंक छ ।








प्रतिक्रिया दिनुहोस्