काठमाडौं । विम्बल्डन टेनिसअन्तर्गत महिला एकलतर्फको खेलमा अमेरिकी खेलाडी कोरी गउफले पाँच पटककी च्याम्पियन भेनस विलियम्सलाई पहिलो चरणमा स्तब्ध बनाएकी छन् ।
आफूभन्दा २४ वर्ष कान्छी खेलाडीसँग भेनस २–० कै सेटमा पराजित भइन् । ३९ वर्षीया भेनसलाई १५ वर्षीया कोरीले ६–४ र ६–४ को सेटमा हराइन् ।
कोरी विश्व वरियतामा ३१३ औं स्थानमा छिन् । उनी जन्मनुभन्दा पहिले नै अमेरिकी भेनसले चार वटा ग्राण्डस्लाम उपाधि जितेकी थिइन् ।
खेल जितेपछि कोरी रोएकी थिइन् । उनले आफ्नी प्रेरणाकी स्रोतलाई हराउँछु भन्नु कल्पनासम्म नगरेको प्रतिक्रिया दिएकी छन् ।
यस्तै दोस्रो वरियताकी जापानी खेलाडी नाओमी ओशाका पनि पहिलो चरणमै पराजित भएकी छन् ।
उनी काजकिस्तानकी युलिया पुटिन्सेभासँग २–० कै सेटमा पराजित भइन् । ओशाका पुटिन्तेभासँग ७–६ र ६–२ ले पराजित भएकी हुन् ।
यसैबीच विम्बल्डन टेनिसको पुरुषतर्फ शीर्ष वरियताका नोभाक जोकोविचले विजयी सुरुवात गरेका छन् ।
साविक विजेता जोकोविचले सेन्टर कोर्टमा भएको पहिलो चरणको खेलमा फिलिप कोह्ल्साएबरलाई पराजित गरेका हुन् ।
३२ वर्षका सर्बियन जोकोविचले जर्मन फिलिपलाई ६–३, ७–५ र ६–३ को सोझो सेटमा पराजित गरेका हुन् ।
दोस्रो चरणमा उनले अमेरिकाका डेनिस कुड्लासँग प्रतिस्पर्धा गर्ने छन् । डेनिसले ट्युनिसियाका कालेक जाजिरीलाई पराजित गरेर दोस्रो चरणमा स्थान बनाएका हुन् ।
यस्तै पुरुष एकलतर्फकै अर्को खेलमा छैटौँ बरियताका एलेक्जान्डर स्वेरेव र सातौँ बरियताका स्टेफानोसा ट्सिपास पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका छन् ।
२२ वर्षका जर्मन स्वेरेवलाई जिरी वेसिली तथा २० वर्षका ग्रिक स्टेफानोसलाई थोमस फाबिएनोले पराजित गरेका हुन् ।
यस्तै चौथो वरियताका केविन एन्डर्सन र स्टानिसलास वावरिन्कासहितका खेलाडीले अघिल्लो चरणमा स्थान बनाएका छन् ।








प्रतिक्रिया दिनुहोस्