Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


सेनेगल अफ्रिका कप अफ नेसन्स फुटबलको प्रि-क्वाटरफाइनलमा


0
Shares

काठमाडौं । सेनेगल अफ्रिका कप अफ नेसन्स फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

इजिप्टमा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको समूह सी को आफ्नो अन्तिम खेलमा केन्यालाई ३–० गोलअन्तरले पराजित गर्दै समूह उपविजेताको रुपमा सेनेगल प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो ।

सेनेगलको जितमा साडिओ मानेले दुई तथा इस्माइला सारले एक गोल गरे ।

खेलका ७६ औँ मिनेटमा फिलेमोन ओटिएनो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि केन्या १० खेलाडीमा सीमित भएको थियो ।

सेनेगलले आगामी शुक्रबार क्वाटरफाइनल प्रवेशका लागि युगान्डाको सामना गर्नेछ । समूह सी कै अर्को खेलमा अल्जेरियाले तान्जनियालाई ३–० ले हरायो ।

समूहका तीनै खेलमा जित निकालेको अल्जेरिया समूह विजेता बन्यो । अल्जेरियाको जितमा एडम ओउनसले दुई तथा इस्लाम स्लिमानीले एक गोल गरेका हुन् ।

यस्तै समूह डी को खेलमा लगातार तीन जित निकालेको मोरक्को समूह विजेता बनेको छ ।

गएराति भएको समूह चरणको अन्तिम खेलमा मोरक्कोले दक्षिण अफ्रिकालाई १–० ले हराएको हो ।

यस्तै सोही समूहको अर्को खेलमा नामिबियालाई ४–१ ले हराएको आइभरीकोस्ट समूह उपविजेताको रुपमा प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।