Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


ललित स्मृति कप यु–१८ मा सशस्त्रद्वारा थ्रीस्टार ५–२ ले पराजित


0
Shares

काठमाडौं, असार १६ । सशस्त्र प्रहरीको एपीएफ क्लबले ललित स्मृति कप यु–१८ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा सशस्त्रले थ्रीस्टार क्लबलाई ५–२ को फराकिलो अन्तरले हराएको हो ।

सशस्त्रलाई जिताउन रञ्जन पुनले दुई तथा विपिन थापामगर, समिरज थोकर र रोशन प्रधानले एक/एक गोल गरे ।

थ्रीस्टारका दिप्सन राउत र सुमन श्रेष्ठले एक/एक गोल फर्काए ।

एनआरटी र संकटाले अंक बाँडे

सोमबारै भएको दोस्रो खेलमा न्यूरोड टिम (एनआरटी) र संकटा क्लबले १–१ गोलको बराबरी खेलेका छन् ।

७५औं मिनेटमा विवेक राईले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएकामा त्यसको एक मिनेटमै संकटाका अवि पहारीले बराबरी गरेका थिए ।

‘लिगकम नकआउट’का आधारमा ‘ए’ डिभिजनका १४ क्लबलाई तीन समूहमा विभाजन गरी खेलाइएको प्रतियोगितामा समूह चरणका विजेता र उपविजेतासहित उत्कृष्ट दुई टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वउपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा एन्फाले आयोजना गरेको प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।