२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


छोरीको योजनामा आमाको हत्या ! चारजना पक्राउ


0
Shares

काठमाडौं, असार १६ । आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा ६१ वर्षीय सावित्री भट्टराईको हत्या उनकै छोरीको योजनाअनुसार भएको खुल्न आएको छ ।

महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी आइतबार दिउँसो घाँटी रेटेर हत्या गरिएकी भट्टराईको हत्यामा उनकै छोरी ईश्वरी भट्टराईको मुख्य योजना रहेको बताएको हो । 

प्रहरीले हत्यामा संलग्न सिरहा कल्याणपुर नगरपालिका–४ का मोहम्मद नौसाद, भारतीय नागरिक अर्जुन कुमार भन्ने भोला कुमार, भारतकै मोहम्मद रहिश र मृतककी छोरी ईश्वरीलाई पक्राउ गरेको हो ।

प्रहरीले नौसादलाई धादिङको गजुरीबाट आइतबार साँझ सात बजे, भोला कुमार र मोहम्मद रहिसलाई राति तीन बजे मकवानपुरबाट पक्राउ गरी सार्वजनिक गरेको हो । मृतककी छोरीलाई भने भक्तपुरबाट पक्राउ गरिएको हो । 

पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले मृतककी छोरी ईश्वरीले आफ्ना प्रेमी नौसादसँग भएको प्रेम सम्बन्धबारे आमाले थाहा पाउने र आफ्नो प्रेममा आमाले विरोध गर्ने डरले आमालाई मार्ने योजना बनाएको अनुसन्धानमा खुलेको बताए ।

‘आमालाई मार्नका लागि ईश्वरीले रु १२ लाख दिने सहमतिअनुसार नौसादले एक्लै मार्न नसक्ने भएकाले भारतबाट साथी बोलाएर हत्या गरेको अनुसन्धानमा खुलेको छ,’ उनले भने । घटनामा संलग्नमध्ये भोला कुमारले हात समाउने, मोहम्मद नौसादले मुख थुन्ने र मोहम्मद रहिसले घाँटी रेटेको अनुसन्धानमा खुलेको थापाले बताए ।

मृतककी छोरी ईश्वरी र मोहम्मद नौसाद केही समय पहिला एउटै गार्मेन्टमा काम गर्दा प्रेम सम्बन्ध भएको महाशाखाले जनाएको छ । (रासस)