Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


सन्दीप र सोमपाल ग्लोबल क्रिकेट लिगमा अनुबन्ध


0
Shares

काठमाडौं, असार ६ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने र तीव्रगतिका बलर सोमपाल कामी क्यानडाको आधिकारिक ग्लोबल टी–२० क्रिकेट लिगका लागि अनुबन्ध भएका छन् ।

राष्ट्रिय टोलीका सदस्य सन्दीपलाई टोरन्टो नेसनल्सले १०औं चरणमा ६० हजार अमेरिकी डलर खर्चेर खरिद गरेको हो ।

सन्दीपले आफ्नो न्यूनतम् मूल्य ६० हजार अमेरिकी डलर तोकेका थिए ।

सन्दीपको टोलीका ‘मार्की’ खेलाडी भने भारतीय टोलीका पूर्वब्याट्सम्यान युवराज सिंह छन् ।

उनले गत वर्ष ग्लोबल टी–२० क्रिकेट क्यानडामा मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए । त्यतिबेला टाइगर्सले सन्दीपलाई ४० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।

त्यसैगरी, विदेशी ‘फ्रेन्चाइज’ लिग खेल्ने दोस्रो नेपाली क्रिकेटर बनेका सोमपाल विनिपेग हक्समा अनुबन्ध भएका हुन् । सोमपाल पहिलोपटक ग्लोबल टी–२० लिग खेल्न लागेका हुन् ।

‘ड्राफ्ट’मा तीन हजार अमेरिकी डलर न्यूनतम् रकम राखेका सोमपाललाई ११औं चरणमा हक्सले अनुबन्ध गरेको हो । सोमपालले तीन हजार अमेरिकी डलर पाउनेछन् ।

उक्त प्रतियोगिताका लागि नेपालबाट १२ खेलाडीले नाम दर्ता गराएका थिए । जसमा दुई खेलाडीमात्र छनोट भएका हुन् ।

यस सिजनको लिग आगामी जुलाई २५ देखि ११ अगष्टसम्म क्यानडामा आयोजना हुँदैछ । रासस