पोखरा, असार ४ । थुनामुक्त भएलगत्तै पक्राउ पर्ने डरले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ९ जना कार्यकर्ता रातभर उच्च अदालत पोखराको परिसरमै बसेका छन् ।
एकपटक थुनामुक्त भएर अदालत परिसरबाहिर निस्केपछि पुनः प्रहरीले पक्राउ गरेको भन्दै उनीहरु योपटक मंगलबारदेखि अदालत परिसरमै बसिरहेका हुन् ।
पुनः पक्राउ परेका उनीहरुलाई उच्च अदालत पोखराले मंगलबार रिहा गरेको थियो ।
अदालतले थुनामुक्त गर्न आदेश दिएपछि चन्दका कार्यकर्ताहरुले मानवअधिकार आयोग कास्कीका अधिकृत ज्योतिप्रसाद घिमिरे, टंक खनाल र नेपाल बार एसोसिएसन उच्च अदालतका अध्यक्ष रोहितराज बास्तोलाको रोहबरमा छुटेको व्यहोरासहितको कागजातमा सहिछाप गरेका छन् ।
पक्राउ गर्न प्रहरी उच्च अदालतनजिकै बसेका कारण उनीहरु अदालत परिसरबाहिर निस्कन सकेका छैनन् ।
प्रहरीले गैरकानुनी तरिकाले पक्राउ गरेको भन्दै आफूहरु बाहिर निस्कन नसकेको चन्दका कार्यकर्ता जंगबहादुर भण्डारी बताउँछन् ।
थनामुक्त भएकाहरुमा भण्डारीसहित प्रकाश बास्तोला, गगन परियार, सुजन सापकोटा, सन्तोष विक, काजी गुरुङ, आस्था नेपाली, राजन साउद र मिलन राई छन् ।
२५ दिनअघि अन्नपूर्ण गाउँपालिकामा बैठक बसिरहेको बेला प्रहरीले उनीहरुसहित २१ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये अरु रिहा भइसकेका छन् ।









प्रतिक्रिया दिनुहोस्