Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


संसदमा बोल्न नपाएका प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमार्फत धारणा राख्ने


0
Shares

काठमाडौं, असार ३ । प्रतिनिधिसभा बैठकको रोस्ट्रममा पुगेर पनि सम्बोधन गर्न नपाई फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरवारबाटै आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओलीले आज अपराह्न ५ बजे सिंहदरवारमा पत्रकार सम्मेलन गरी सार्वजनिक महत्वका विषयमा आफ्ना धारणा राख्ने भएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेपछि मंगलबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्न पाएका थिएनन् । उनी रोस्ट्रममा पुगेर उभिनासाथ कांग्रेस सांसदहरु बैठक कक्षको अगाडि आएर नाराबाजी गरेका थिए । उनीहरुले प्रमुख प्रतिपक्षी दलका नेतालाई पहिला बोल्नका लागि समय दिनुपर्ने माग गरेका थिए ।

लगातारको नाराबाजीपछि सभामुख कृष्णबहादुर महराले बैठक स्थगित भएको जानकारी दिएका थिए ।

बैठक स्थगित भएपछि ट्वीट गर्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षी नेपाली कांग्रेसले रोष्ट्रम घेरी अवरोध गरेका कारण आफूले हालैको युरोप भ्रमण र गुठी विधेयकलगायतका समसामयिक विषयहरुमा रहेको जनचासोका सन्दर्भमा सदनलाई जानकारी गराउन नपाएको जिकिर गरेका थिए ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘यस घटनाबाट म दुःखी भएको छु ।’

पत्रकार सम्मेलनमा ओलीले गुठी विधेयकका बारेमा महत्वपूर्ण निर्णय सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । सो विधेयक फिर्ता लिन उनलाई सत्तारुढ दलकै जनप्रतिनिधिले समेत सुझाव दिएका थिए ।