काठमाडौं, असार २ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे सोमबार काठमाडौं उपत्यकाका जनप्रतिनिधिहरुसँग छलफल गरेका छन् ।
गुठी विधेयकमा सरोकारवालाहरुको असन्तुष्टि चर्कंदै गएपछि प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकाका जनप्रतिनिधिहरुलाई बालुवाटारमा छलफलका लागि डाकेका हुन् ।
गुठी विधेयककाबारेमा प्रधानमन्त्री ओलीले छलफल गर्न काठमाडौं उपत्यकाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद, मेयर, वडाध्यक्षहरु, जिल्ला नेताहरुलाई बोलाएका हुन् ।
उपस्थित अधिकांशले गुठी विधेयक स्पस्टरुपमा आउन नसकेको र देशभरिको गुठीलाई एउटै डालोमा राख्नु गलत भएको धारणा राखेका थिए ।
उनीहरुले प्राधिकरण विधेयकले गुठियारहरुको अधिकार खोस्ने भन्दै यस्तो विधेयक फिर्ता लिएर गुठियारहरुसित वृहत् छलफल गरी अगाडि बढ्न सुझाव दिएको छलफलमा सहभागी एक नेताले बताए ।
यसअघि, सोमबारै बिहान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले प्रधानमन्त्रीलाई गुठी विधेयकबारे जानकारी गराएकी थिइन् ।
८ दिनको युरोप भ्रमणबाट आइतबार फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसित विधेयकमा गल्ती भए सरकारले सच्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्