Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


भारतले दियो पाकिस्तानलाई ३३७ रनको लक्ष्य, रोहितको शतक


0
Shares

काठमाडौं, असार १ । इंल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानलाई भारतले ३३७ रनको चुनौती दिएको छ ।

म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा भइरहेको खेलमा भारतले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित् ५० ओभरमा ५ विकेटको क्षतिमा ३३६ रन बनायो ।

रोहित शर्माले जारी विश्वकपको दोस्रो शतक प्रहार गर्नेक्रममा ११३ बलमा १४० रन बनाए । उनले पहिलो खेलमै दक्षिण अफ्रिकाविरुद्ध १२२ रन बनाएका थिए ।

शिखर धवन घाइते भएपछि उनको स्थानमा रोहितसँग ओपनिङ गर्न आएका लोकेश राहुलले पहिलो विकेटका लागि १३६ रनको साझेदारी गर्नेक्रममा ५७ रन जोडे । कप्तान विराट कोहलीले ७७ रनको योगदान गरे ।

दक्षिण एसियाका दुई कट्टर प्रतिस्पर्धीबीचको भिडन्त सधैं रोचक हुँदै आएको छ ।

विश्वकप क्रिकेटमा पाकिस्तानले अहिलेसम्म भारतलाई हराउन सकेको छैन । हालसम्म यी दुई टोलीहरु ६ पटक भिड्दा सबै खेल भारतले जितेको छ ।

एकदिवसीय क्रिकेटमा भने १३१ खेलमा पाकिस्तानले ७३ खेल जित्दा भारत ५४ खेलमा विजयी भएको छ ।

जारी विश्वकपमा भारत तीन खेलमा अपराजित छ । दुई खेल जित्दा भारतले एक खेल वर्षाले रद्द भएपछि बराबरीमा चित्त बुझाएको थियो ।

पाकिस्तानले भने चार खेलबाट एक जित, एक बराबरी र दुई हारसहित ३ अंक बटुलेको छ ।