काठमाडौं, असार १ । नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को आयोजनाका लागि पाँच अर्ब २६ करोड ५७ लाख रुपैयाँको अनुमानित बजेट प्रस्ताव गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष, बजेट निर्माण कार्यदलका संयोजक एवं साग तयारी तथा व्यवस्थापन समिति सदस्य पिताम्बर तिम्सिनाले युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मालाई आइतबार बुझाएको प्रतिवेदनमा पाँच अर्ब २६ करोड ५७ लाख ४२ हजार ६ सय ७० रुपैयाँको अनुमानित बजेट पेस गरेका हुन् ।
विभिन्न १७ शीर्षकमा अनुमानित बजेट राख्नेक्रममा सबैभन्दा बढी एक अर्ब २९ करोड ९१ लाख रुपैयाँ खेल सामग्री, उपकरण तथा पोसाक व्यवस्थापन समितिका लागि छुट्टाइएको छ ।
राष्ट्रिय टिम तयारी समितिका लागि ८८ करोड १२ लाख, समारोह व्यवस्थापन समितिका लागि ७१ करोड ४६ लाख, सुरक्षा समितिका लागि ५० करोड, आवास व्यवस्थापन समितिका लागि ४५ करोड ५२ लाख तथा प्रचार–प्रसार तथा प्रकाशन समितिका लागि ९ करोड रुपैयाँ अनुमानित बजेटको प्रस्ताव गरिएको छ ।
यसअघि बसेको प्रतियोगिताको तयारी तथा व्यवस्थापन समितिको बैठकमा राखेप सदस्यसचिव केशवकुमार विष्टले भने करिब साढे तीन अर्ब रुपैयाँमा साग आयोजना गर्नसकिने बताएका थिए ।
तर, कार्यदलले झन्डै दोब्बर बजेट अनुमान गर्दै प्रतिवेदन पेस गरेको छ ।
कार्यदल संयोजक तिम्सिनाले विभिन्न विज्ञ र परिषदका कर्मचारीसँग छलफल गरेर बजेट पेस गरिएको बताएका छन् ।
१३औं साग आगामी मंसिरमा आयोजना हुँदैछ ।








प्रतिक्रिया दिनुहोस्