Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


पाकेट मार्ने ७८ पुरुष र चार महिला पक्राउ


0
Shares

काठमाडौं, असार १ । नेपाल प्रहरीले सार्वजनिक सवारी–साधनमा पाकेटमार तथा चोरी गर्ने ८२ व्यक्तिलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट सादा पोसाकमा खटिएको टोलीले जेठ महिनामा काठमाडौंका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी–साधनमा पाकेटमार तथा चोरी गर्ने ७८ पुरुष र चार महिलालाई पक्राउ गरेको हो ।

परिसरले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंमा चल्ने बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रीको पकेट तथा झोलामा रहेको नगद, मोबाइल तथा गरगहना चोर्दाचोर्दै पक्राउ गरिएको जानकारी दिएको हो ।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले विभिन्न बसमा दुईजनाका दरले समूह बनाएर बसभित्र छिरेर पैसा भएको यात्री पत्ता लगाइ ठेलमठेल गरेर नगद तथा गरगहना चोर्ने गरेको अनुसन्धानमा खुल्न आएको बताए ।

‘पाकेटमारी गर्दा सांकेतिक भाषा प्रयोग गर्ने गरेको अनुसन्धानमा खुलेको छ’–उनले भने ।

प्रहरीले यसभन्दापहिला पनि काठमाडौंका विभिन्न भागबाट १०० भन्दा बढी पाकेटमारीलाई पक्राउ गरेको थियो ।

प्रहरीले पाकेटमारी गर्दागर्दैै विभिन्न व्यक्तिबाट रु ६ लाखभन्दा बढी बरामद गरेकामा सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।

प्रहरीले पाकेटमारीबाट २१ थान मोबाइल, दुईथान ल्यापटपसमेत बरामद गरेको छ ।

पहिलोपटक पाकेटमारी गर्नेलाई एक महिना जेल र बिगो बराबरको जरिवाना साथै दोस्रोपटक पाकेटमारी गर्नेलाई दुई महिना कैद, बिगोबमोजिमको जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ । रासस