
काठमाडौं, असार ३१ । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका संयोजक किशोरी महतोले संविधान पुनर्लेखन सभा गठनको माग गरेका छन् ।
गठबन्धनले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक महतोले यस्तो माग गरेका हुन् ।
उनले भने, ‘स्वर्गीय गिरिजाप्रसाद कोईरालाले बिपीको विचारलाई त्यागेर गणतन्त्र ल्याउनुभयो, उहाँ बितेपछि गणतन्त्र गन्धमा परिणत भयो, कांग्रेस पार्टीको यो हाल भयो, धर्म मास्नेहरुको भलाई हुँदैन ।’ उनले राजतन्त्र पुनर्स्थापना अभियानमा आफूहरु अघि बढ्नेसमेत बताए ।
कार्यक्रममा शिव सेना पार्टीका अध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक विक्रम बमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आगामी माघसम्म मात्रै टिक्ने दाबी गरे ।
उनले भने, ‘अधिनायकवादीहरुले जनतामाथि कुठाराघात गर्दैछन्, ०४६ सालपछि गुम्दै गएको राष्ट्रियता, पहिचान जोगाउनु आजको आवश्यकता हो ।’ संविधान पूर्णरुपमा केही नेता र राजनीतिक दलहरुको भलाइको निम्ति ल्याइएको दावी गर्दै उनले भने, ‘यो संविधान पुनर्लेखन सभाको माग गर्दै हामी सडकमा आएका छौं ।’
कार्यक्रममा विश्व हिन्दु परिषद अन्तर्राष्ट्रिय समितिकी महासचिव अस्मिता भण्डारीले वर्तमान संविधानले जनता र देशको भलाई गर्न नसक्ने स्पष्ट पारिन् ।
संघीयताको अर्थ फुट्नु नभएर जुट्नु हो भन्दै भण्डारीले अतिवादी सोचका आधारमा आएको संविधान खारेजीसँगै पुनर्लेखन सभाको माग गरिन् ।
उनले भनिन्, ‘संघीयता विकासको आधार होइन, हाम्रोजस्तो देशमा विकासको बाधक पनि हो, संघीयता नभएका विश्वका धेरै देशहरु विकसित छन, यूरोपियन देशहरुमा बेलायतकी महारानीलाई मानार्थ महारानीको रुपमा स्वीकार गरेका छन्, हाम्रो देशले आफ्नै राजालाई समेत स्वीकार गर्न सकेन ।’
प्रतिक्रिया दिनुहोस्