Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


विदेशमा रहेका नेपालीले जलविद्युतमा लगानी गर्न पाउने, सेयर प्रतिशत बढ्ने


0
Shares

काठमाडौं । ताप्लेजुङमा निर्माण हुने घुन्सा खोला र सिम्बुवा खोला जलविद्युत् आयोजनामा वैदेशिक रोजगारीमा रहेका नेपालीको सेयर प्रतिशत यसअघि प्रस्ताव गरिएभन्दा बढ्ने भएको छ ।

ती दुवै आयोजनाको निर्माण र संचालनको जिम्मेवारी जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को सहायक कम्पनी रेमिट हाइड्रोलाई दिइएको छ ।

विदेशमा बस्ने नेपालीले पठाउने रेमिट्यान्सको रकमसमेत लगानी गर्ने गरी ७७ दशमलव ५ मेगावाटको धुन्सा र ७० दशमलव ३ (संशोधित) निर्माण गर्ने गरी ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले कम्पनीमार्फत निर्माण प्रक्रिया अघि बढाएको हो ।

जनताको जलविद्युत् आयोजना कार्यक्रम सञ्चालन तथा व्यवस्थापन समितिको बैठकमा शुक्रबार ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रेमिट्यान्सको लगानी प्रतिशत वृद्धि गर्ने प्रक्रिया अघि बढाउन आयोजना निर्माणको जिम्मा पाएको एचआइडीसीएललाई निर्देशन दिए ।

ती दुवै आयोजनाका लागि यसअघि ३० प्रतिशत लगानी रेमिट्यान्स र बाँकी ७० प्रतिशत बैंक तथा वित्तीय संस्था, विकास साझेदार, स्थानीय बासिन्दा र सर्वसाधारण लगायतबाट रकम जुटाउने गरी लगानी अवधारणा तयार पारिएको थियो ।

विदेश बस्ने प्रत्येक नेपालीले ५ लाख रुपैयाँ लगानी गर्ने गरी मोडालिटी तयार पार्न मन्त्री वर्षमान पुनले निर्देशन दिनुभएको छ ।

उहाँले धुन्सा र सिम्बुवाखोला आयोजना निर्माणको लगानी मोडेल नै रेमिट्यान्स भएकाले बढीभन्दा बढी विदेशमा रहेका नेपालीलाई त्यसमा समेट्नुपर्ने बताउनुभयो ।

हाल विदेशमा रहेकाहरुले स्वदेश फर्केपछि पेन्सनकै रुपमा नियमित आम्दानीको श्रोत हुने भएकाले उनीहरुको लगानी बढाउनुपर्नेमा मन्त्री पुनको जोड छ ।

दुवै आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता गर्न भने बाँकी छ । दुवै आयोजना निर्माणका लागि कूल २१ अर्ब रुपैयाँ लगानी हुने सम्भाव्यता अध्ययनले देखाएको छ ।